काठमाडौं- बलिउड अभिनेत्री सोनाक्षी सिन्हा विवाह बन्धनमा बाँधिएकी छन्। सोनाक्षीले प्रेमी जहीर इकबालसँग आइतबार मुम्बईमा विवाह गरेकी हुन्।

हिन्दू धर्म मान्ने सोनाक्षी र मुस्लिम धर्म मान्ने जहीरले विशेष विवाह ऐनअन्तर्गत विवाह दर्ता गरेका हुन्। सोनाक्षी विवाहमा मुस्लिम पहिरनमा सजिएकी थिइन् भने भोजमा हिन्दू पहिरनमा सजिएकी थिइन्।

करिब सात वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले पारिवारिक सल्लाहमा बिहे गरेका हुन्।

विवाह दर्तापछि सामाजिक सञ्जालमा तस्वीर सेयर गर्दै सोनाक्षी र जहीरले लेखेका छन्, ‘आजभन्दा सात वर्ष पहिले हामीले एकअर्काको आँखामा देखेका थियौं। प्रेम एक सुन्दर चीज हो। हामी दुईले त्यही दिन तय गरिसकेका थियौं कि हामी साथसाथ रहनेछौं। हाम्रो प्रेमले धेरै अप्ठ्याराहरू पार गरेको छ। हाम्रो दुवै परिवार र भगवानको आशीर्वादले हामी यहाँसम्म आइपुग्यौं। हामी श्रीमान्-श्रीमती बन्यौं, सोनाक्षी र जहीर:२३-०६-२०२४।’

सोनाक्षीका श्रीमान जहीर इकबाल व्यावसायिक घरानाका हुन्। अभिनेतासमेत रहेका जहीरले चलचित्र ‘डबल एक्स एल’मा सोनाक्षीसँगै काम गरेका हुन्।