काठमाडौं— वर्षाले प्रभावित खेलमा डकवर्थ लुइसका आधारमा वेष्ट इन्डिजलाई पछि पार्दौ दक्षिण अफ्रिका आइसीसी टी–२० विश्वकप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ।

सुपर एटको अन्तिम खेलमा वेष्ट इन्डिजलाई तीन विकेटले पराजित गर्दै दक्षिण अफ्रिकाले सेमिफाइनलमा स्थान पक्का गरेको हो।

OM Sai Pathibhara Hospital

टस जितेर दक्षिण अफ्रिकाले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको वेष्ट इन्डिजले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ३५ रन बनाएको थियो।

मध्यम लक्ष्य पछ्याउने क्रममा वर्षाले केहीबेर खेल प्रभावित भएपछि दक्षिण अफ्रिकाले १७ ओभरमा एक सय २३ रनको नयाँ लक्ष्य पाएको थियो। सो लक्ष्य दक्षिण अफ्रिकाले पाँच बल बाँकी छँदै पूरा गर्‍यो। 

दक्षिण अफ्रिकाले लक्ष्य पछ्याउने क्रममा इनिङको सुरुवातमै वर्षाले खेल प्रभावित भएको थियो।

दक्षिण अफ्रिकाका ट्रिस्टन स्टब्सले सर्वाधिक २९ रन बनाए। उनले २७ बल सामना गरेका थिए। हेनरिक क्लासेनले १० बलमा २२ रन बनाउँदा मारक्रमले १५ बलमा १८ रन जोडे। मार्को जोनसनले १४ बलमा २१ रन बनाउँदै टिमलाई सेमिफाइनलसम्म पुर्‍याए। उनी अविजित रहे।

वेस्ट इन्डिजका लागि रोस्टन चेज एक्लैले तीन विकेट लिए पनि दक्षिण अफ्रिकाबाट जित खोस्न सकेनन्।

एन्टिग्वामा भएको खेलमा पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले रोस्टन चेजको ४२ बलमा बनाएको ५२ रनको मद्यतमा मध्यम स्कोर खडा गरेको थियो। ओपनर  काइल माएर्सले ३४ बलमा ३५ रन बनाउँदा अन्य ब्याटरले ठूलो योगदान गर्न सकेनन्।

वेष्ट इन्डिजका ६ ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्। दक्षिण अफ्रिकाका तब्रेज शम्शीले ३, मार्को यान्सन, एइडन मारक्रम, केशव महाराज र कागीसो रबाडाले समान एक–एक विकेट लिए।