काठमाडौं- नेपाल प्रज्ञा प्रतिष्ठानले यस वर्षको राष्ट्रिय कविता महोत्सवमा सर्वोत्कृष्ट दश कविलाई पुरस्कृत गरेको छ।   

प्रतिष्ठानको ६७औँ वार्षिकोत्सवका अवसरमा आज आयोजना गरिएको राष्ट्रिय महोत्सव—२०८१ म सहभागी भएका कविमध्ये मूल्याङ्कन समितिबाट सिफारिस भएअनुसार सर्वोत्कृष्ट १० जनालाई पुरस्कारका लागि छनोट गरिएको थियो। कार्यक्रममा सर्वोत्कृष्ट १० कविका रचना वाचनसमेत गरिएका थिए। 

OM Sai Pathibhara Hospital

पुरस्कृत  हुनेमा बर्दियाका अग्रआवाज, मकवानपुरका अनिता न्यौपाने, नवलपरासीका अञ्जान प्रदीप, दाङका छविलाल कोपिला, रोल्पाका दिलीप बुढामगर, मोरङका रुमानी कुलुङ, सिन्धुलीका रुपक ‘जमरा’ घलान, सिन्धुलीका रेजिना खालिङ, ललितपुरका शर्मिला दुलाल र पाँचथरका सुमन सहयात्री योङहाङ रहेका छन्। 

प्रतिष्ठानकी प्राज्ञ एवं कविता महोत्सव संयोजक बाबा बस्नेतका अनुसार महोत्सवका लागि देशभरबाट एक हजारभन्दा बढी कविता प्राप्त भएका थिए। तीमध्ये छ सय चार छनोट गरेर तेस्रो चरणका लागि २५ कविता छानिएकामा १० कवितालाई सर्वोत्कृष्ट घोषणा गरिएका थिए। 

प्रतिष्ठानका कुलपति भूपाल राईले पछिल्लो समय कविता महोत्सवलाई समावेशी बनाउने हेतुले बहुभाषा कविता छनोट गरिएको बताए। 

यसअघि पहिलो, दोस्रो र तेस्रो चरणमा विजेता बनाउने परम्परा रहेकामा यसपटक छनोट विधि परिवर्तन गरी १० रचना छानिएका उनले जानकारी दिए। 

विसं २०१४ मा स्थापना भएको प्रतिष्ठानले विसं २०२२ देखि राष्ट्रिय कविता प्रतियोगिता गर्दै आएको छ । अहिले यही प्रतियोगिताको नाम परिवर्तन गरेर महोत्सव राखिएको हो । 

कार्यक्रममा प्रतिष्ठानका उत्कृष्ट कर्मचारी सरेन्द्र महर्जन, दुर्गादेवी शर्मा र कुलराम थापालाई जनही ५० हजार राखिसहित पुरस्कार र सम्मान प्रदान गरिएको थियो।