काठमाडौं- आईसीसी टी-२० को सुपर ८ को खेलमा अफगानिस्तानसँग अस्ट्रेलिया पराजित बनेसँगै अनेक टिप्पणी भइरहेका छन्। 

उपाधि दाबेदार मानिएको अस्ट्रेलिया कमजोर मानिने अफगानिस्तानसँग फराकिलो रनले पराजित बन्यो। हारसँगै अस्ट्रेलिया अब टी २० विश्वकपबाट बाहिरिन्छ भन्ने प्रतिक्रिया सार्वजनिक भइरहेका छन्।

OM Sai Pathibhara Hospital

हालसम्मका कुनै प्रतियोगितामा (टी-२० र एक दिवसीय) अस्ट्रेलिया अफगानिस्तानसँग पराजित बनेको थिएन। यस्तै टी २० विश्वकप २०२४ को समेत समूह चरणदेखि हालसम्म अस्ट्रेलिया अपराजित टिम थियो। यो हारसँगै अस्ट्रेलियाको अपराजित यात्रामा ब्रेक लागेको छ। 

तर अफगानिस्तानसँगको हारले भने अस्ट्रेलियालाई दबाब बढाएको छ। अस्ट्रेलियाले सुपर ८ को एक खेल मात्र जितेको छ। उसले आज जित निकालेको भए समूह एकको अर्को टोली भारतसँग समूह विजेताको दाबेदारी प्रस्तुत गर्न सक्थ्योे। यति मात्र होइन, अस्ट्रेलियाको अबको खेल पनि भारतसँगै छ। 

दुई खेलबाटै ४ अंक बटुलेको भारत सेमिफाइनल पुग्ने प्रवल सम्भावना छ। अब भारतले एक खेल खेल्न बाँकी छ। यदि भारतले अस्ट्रेलियासँगको खेल हारे पनि ४ अंकका कारण सेमिफाइनल सम्भावना जीवितै रहन्छ। किनकि, अस्ट्रेलियासँगै दुई खेलबाट २ अंक बटुलेको अफगानिस्तान पनि अब सेमिफाइनलको दाबेदार बनेको छ। 

अब अफगानिस्तानले बंगलादेशसँग जित निकाले ४ अंक बटुल्नेछ। बंगलादेशले जितेमा भने उसको २ अंक मात्र रहनेछ। सुपर ८ को दुई खेल खेलिसक्दा बंगलादेश अंकविहीन छ। यही कारण अस्ट्रेलिया सेमिफाइनलमा पुग्न भारतसँग जित्नुपर्ने दबाबमा छ। 

यदि त्यसो नभए अफगानिस्तान जाने सम्भावना रहन्छ। अफगानिस्तानले बंगलादेशसँग हार्ने हो भने अस्ट्रेलियालाई केही सहज हुन सक्छ। यदि अस्ट्रेलिया भारतसँग पराजित भएमा र अफगानिस्तान बंगलादेशसँग हारेमा भने अस्ट्रेलियाको सम्भावना रहन्छ। 

अफगानिस्तान र अस्ट्रेलियाले हारे को पुग्छ सेमिफाइनलमा?

यो समूहको अबको समिकरण रोचक बन्ने छ। अफगानिस्तानसँग अस्ट्रेलिया पराजय भएसँगै रोचकता बढेको हो। अब सबै (चार टोली)ले एक एक खेल खेल्न बाँकी छ। अहिले अंक तालिकामा भारतको ४ अंक छ। अफगानिस्तान र अस्ट्रेलियाको २ अंक छ। यता बंगलादेशको अंक विहीन छ। 

भनिन्छ, क्रिकेटमा कहिलेकाहीँ अकल्पनीय नतिजा आउन सक्छ। जस्तो, अस्ट्रेयिासँग अफगानिस्तान विजयी बन्यो। अहिले २ अंक बटुलेका अफगानिस्तान र अस्ट्रेलिया अबका खेलमा पराजित बने नतिजा कता जाला यो महत्वपूर्ण छ। 

अस्ट्रेलियाको अबको खेल अपराजित भारतसँग छ। यता, अफगानिस्तानको बंगलादेशसँग। यदि यसो भएमा ३ टोलीको समान २ अंक हुनेछ। बंगलादेश पनि अफगानिस्तानसँग जित्दा २ अंक बटुल्छ। तर सेमिफाइनल पुग्ने सम्भावना भने बंगलादेशको सामान्य मात्र रहन्छ। किनकि अहिले बंगलादेशको रनरेट माइनस २ मा छ।

अब पराजित बने पनि अस्ट्रेलियालाई केही राहत अवश्य मिल्ने छ। त्यो हो, अहिले उससँग रहेको रन रेट। अहिले ० माथिको रन रेटमा रहेको अस्ट्रेलिया झिनो रन रन वा विकेटले पराजित बने पनि अन्य टोलीभन्दा माथि रहन्छ। तर यता अस्ट्रेलिया हार्दा अफगानिस्तान पनि पराजित भएको हुनुपर्छ।   

अहिलेलाई यति भन्न सकिन्छ। यी सबै टोलीको सेमिफाइनल सम्भावना आफ्नो मात्र हातमा छैन। अबको खेल हारेमा भारतको पनि हविगत अन्यको जस्तै रहन्छ। यदि अस्ट्रेलिया र अफगानिस्तानले जित निकाल्ने हो भने भारतसँग समान ४ अंक रहन्छ। तर भारतसँग अहिले प्लस २ को रनरेट छ। यही कारण भारत अब पराजित बने पनि सेमिफाइनल पुग्ने सम्भावना बलियो छ।