काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत पहिलो त्रिदेशीय शृंखलाको अन्तिम खेलमा आज नेपालले नेदरल्यान्ड्ससँग खेल्दै छ । यसअघिका तीन खेलमध्ये एक खेलमा मात्र जित निकालेको नेपाल आज विजयी नतिजासहित घरेलु मैदानमा आयोजित शृंखलाको अन्त्य गर्ने लक्ष्यमा हुनेछ ।

नेपालले यसअघि पहिलो खेलमा नामिबियासँग चार विकेटको हार बेहोरेको  थियो । दोस्रो खेलमा नेदरल्यान्ड्सलाई नौ विकेटले हराए पनि नेपालले तेस्रो खेलमा पुनः नामिबियासँग दुई विकेटको हार बेहोरेको हो ।

OM Sai Pathibhara Hospital

यता, नेदरल्यान्ड्सले पनि जारी शृंखलाका तीन खेलमध्ये एक खेलमा मात्र जित निकालेको छ । नेदरल्यान्ड्सले नेपालसँग हार बेहोरे पनि दोस्रो खेलमा नामिबियालाई सात विकेटले हराएको थियो । तेस्रो खेलमा भने डच टिम नामिबियाविरुद्ध २४ रनले पराजित भएको थियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यी दुई टिमबीचको खेल बिहान ९ः३० बजेदेखि सुरु हुनेछ ।

पहिलो शृंखलाका चार खेल खेलिसकेको नामिबिया लिग–२ तालिकाको शीर्ष स्थानमा छ । चार खेलमध्ये तीनमा जित निकालेको अफ्रिकी टोलीको खातामा ६ अंक छ । समान तीन खेल खेलेका नेपाल र नेदरल्यान्ड्स भने दुई अंकसहित क्रमशः तालिकाको दोस्रो र तेस्रो स्थानमा छन् ।