बिर्तामोड / झापाको बुद्धशान्ति गाउँपालिकामा जारी प्रथम झापा जिल्ला अन्तरपालिका स्तरीय पुरुष टि - ट्वान्टी क्रीकेट प्रतियोगिता फाइनलमा प्रवेश गरेको छ ।
बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिको आयोजनामा संचालन भैरहेको खेलमा भोलि ( शनिबार ) उपाधिका लागि बिर्तामोड नगरपालिका र कचनकवल गाउँपालिका बीच भिडन्त हुनेछ ।
पहिलो चरणको सेमिफाइनल खेलमा कचनकवल गाउँपालिकाले मेचिनगर नगरपालिकालाइ हराएको थियो भने हिजो भएको दोस्रो सेमिफाईनल खेलमा गौरादह नगरपालिका लाई ८१ रनले पराजित गर्दै बिर्तामोड नगरपालिका फाइनलमा प्रवेश गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको बिर्तामोड नगरपालिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८७ रन बनाएको थिए । बिर्तामोडका लागि सिवान्स बजगाईले ६२ रन र दिपु भुजेलले ४६ रन बनाएका थिए भने बलिङ तर्फ गौरादहका ज्ञानु श्रेष्ठ र अर्जुन ढकालले २/२ विकेट लिएका थिए ।
१८८ रनको लक्ष्य पछ्याएको गौरादहले १३.४ ओभरमा अलआउट हुँदै मात्र १०६ रन बनाउन सफल भयो । बिर्तामोडका लागि उत्कृष्ट ब्याटिङ गर्दै ६२ रन बनाएका सिवान्स बजगाई खेलको म्यान अफ दि म्याच घोषित भए ।
झापाका १५ वटै पालिकाको सहभागिता रहेको प्रतियोगितामा विजेताले नगद १ लाख, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ५० हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउने प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईंले बताएका छन । प्रसाइका अनुसार भोलि हुने फाइनल खेलमा नेपाली साङगितिक क्षेत्रमा प्रख्यात गायिका आस्था राउतको समेत प्रस्तुति रहने छ ।