बिर्तामोड । बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिको आयोजनामा जारी प्रथम झापा जिल्ला अन्तरपालिका टि–२० पुरुष क्रिकेट प्रतियोगिता सेमिफाइनल प्रवेश गरेको छ । 

सोमबार भएको क्वार्टर फाइनल खेलमा ४ टिम मेचीनगर नगरपालिका , बिर्तामोड नगरपालिका , गौरादह नगरपालिका र कचनकवल गाउँपालिका सेमिफाइनल प्रवेश गरेको हो । 

OM Sai Pathibhara Hospital

पहिलो क्वाटर फाइनल खेलमा  बिर्तामोडले भद्रपुर नगरपालिकालाई ५ रनले पराजित गरेको थियो । पहिले ब्याटिङ राजेको बिर्तामोडले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५४ रनको योगफल बनाएको थियो । १५५ रनको लक्ष्य पछ्याएको भद्रपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४९ रन मात्र बनाउन सक्यो ।

man-of-the-match

बिर्तामोडका लागि ४ ओभर बलिङ गर्दै १६ रन दिएर ५ विकेट लिएका सुमित न्यौपाने खेलको प्लेयर अफ दि म्याच घोषित भए । त्यस्तै, अन्तिम क्वार्टर फाइनल खेलमा कचनकवल गाउँपालिकाले कमल गाउँपालिकालाई ३ विकेटले जित्यो । पहिले ब्याटिङ रोजेको कमलले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १६६ रन बनाएको थियो ।

१६७ रनको लक्ष्य पछ्याएको कचनकवलले ७ विकेट गुमाउँदै १८.१ ओभरमा लक्ष्य प्राप्त गर्यो । कचनकवलका लागि ४० बलमा ६९ रन बनाएका रोशन चौहान खेलको प्लेयर अफ दि म्याच घोषित भए ।

फागुन ९ गतेको पहिलो सेमिफाइनलमा मेचीनगर नगरपालिका र कचनकवल गाउँपालिका प्रतिस्पर्धा गर्ने छन् । फागुन १० गते दोस्रो सेमिफाइनल खेल बिर्तामोड नगरपालिका र गौरादह नगरपालिकाबीच हुनेछ ।

झापाका १५ वटै पालिकाको सहभागिता रहेको प्रतियोगितामा विजेताले नगद १ लाख, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ५० हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउने प्रतिष्ठानका अध्यक्ष मदनकुमार प्रसाईंले जानकारी दिए ।

खेलमा प्लेयर अफ दि म्याचलाई २ हजार, फाइनलको दिन प्लेयर अफ दि म्याचलाई ५ हजार र प्लेयर अफ दि सिरिजलाई १० हजार पुरस्कार दिइनेछ । बर्खा स्मृति प्रतिष्ठान पछिल्लो समय सामाजिक क्षेत्रमा सक्रिय भएर लागि परेको छ । युवा बर्गमा लुकेको प्रतिभालाई पहिचान गरि भोलिका दिनमा आफ्नो देशको नाम राख्न सफल बनाउने उदेश्य प्रतिष्ठानले लिएको अध्यक्ष प्रसाइले बताएका छन ।