काठमाण्डौ  ।  जनमत पार्टीका अध्यक्ष सिके राउतले नेपालको मधेस क्षेत्र उपेक्षा, उत्पीडन र खेलाँचीका कारण सधै पछि परेको टिप्पणी गरेका छन । समथर भूमी, पूर्व पश्चिम राजमार्ग, भारतीय सीमामा पहुँच जस्ता भौगोलिक अनुकूलता भए पनि मधेस क्षेत्र कर्णालीभन्दा पिछडिएको उनको दाबी छ।

नेपाल लिटरेचर फेस्टिभलमा आइतबार आयोजित ‘मधेश मन्थन’ कार्यक्रममा उनले भने, “कर्णाली विकसित हुनुपर्छ, त्यसमा दुविधा छैन तर मधेशको साक्षरता, समाजको चेतना कर्णालीभन्दा पनि पछि छ ।” क्याम्ब्रिज विश्वविद्यालयमा अध्ययन गरी अमेरिकाको नासामा वरिष्ठ वैज्ञानिकको सेवा छाडेर नेपाल फर्किनुभएका राउतले गाउँका केही चल्तापुर्जाले आफ्नो फिर्तीलाई नरुचाएको उल्लेख गरे ।

OM Sai Pathibhara Hospital

“अब काठमाडौँ बसे हुन्छ, गाउँमा के छ र भन्नेहरु थिए । हामी जस्ता मान्छे गाउँमा बसे उनीहरुको मनोमानी चल्दन भन्ने डर थियो,” राउत भन्छन, “पढेलेखेकालाई राजनीतिमा जानै हुन्न भनेपछि उनीहरु कि सहर जान्छन्, कि विदेश । सधैँ आफ्नो रजाइँ चल्छ भन्ने ठान्नेहरु छन् ।”

प्रतिनिनिधिसभा सदस्यसमेत रहेका राउतले समृद्ध देशमा आर्थिक उन्नतिका बाटा भए पनि सुखी नभएको टिप्पणी गरे । मधेश क्षेत्रको पूर्वदेखि पश्चिमसम्म घुमेर जनजीवन बुझ्दा कसै न कसैले परिवर्तनका लागि प्रयास गर्नैपर्छ भन्ने ठानेर नासाबाट फर्र्किएको उनको भनाइ छ ।

सरकारमा सहभागिताको एक वर्ष आफू र आफ्नो पार्टीका लागि सिकाइ भएको उल्लेख गर्दै अध्यक्ष सिकेले गुण र दोषका आधारमा चलिरहेको दाबी गरे । “हामी गठबन्धनमा छौँ तर नराम्रो गर्दा विरोध गरेको छु । गलत नीतिलाई गलत नै भनेको छु । सरकारमा जाँदा केही न केही गर्ने मौका भने पाएका छौँ,” उनले भने ।