काठमाडौं । क्यानडासँगको एक दिवसीय सिरिजमा नेपालले तेस्रो तथा अन्तिम खेल आज खेल्दैछ । खेल बिहान ९:१५ मा टियु क्रिकेट मैदानमा सुरु हुनेछ ।


पहिलो खेलमा नेपाल ७ रन र दोस्रो खेलमा ४ विकेटले विजयी भएको थियो । नेपाल अन्तिम खेलमा विजयीका साथ सिरिजमा क्लिन स्वीप गर्ने लक्ष्यका साथ मैदान उत्रनेछ । उता क्यानडा अन्तिम खेलमा जितका साथ क्लिन स्वीप हुनबाट बच्न चाहन्छ । नेपालले आजको खेलमा तीव्र गतिका बलर हेमन्त धामीलाई डेब्यु दिने सम्भावना छ ।सम्भव त अनुभवी तीव्र गतिका बलर सोमपाल कामीलाई विश्राम दिंदै हेमन्तले डेब्यु गर्न दिनसक्छ ।

OM Sai Pathibhara Hospital

सोमपाललाई विश्राम नदिए रिजन ढकाललाई बाहिर राख्ने सम्भावना छ। त्यस्तै कुशल भुर्तेल फर्किंदा आसिफले विश्राम पाउने सम्भावना छ ।

नेपालले यो सिरिजपछि आइसीसी क्रिकेट विश्वकप लिग-२ को त्रिकोणीय सिरिज खेल्ने हुनाले क्यानडाविरुद्धको सिरिजलाई तयारीको रुपमा हेरेको छ । सोही कारणले नेपालले युवा खेलाडीलाई अवसर दिने रणनीति बनाउँदै टिममा रहेका सबै खेलाडीलाई खेल्ने अवसर दिएको छ । यस खेलमा पनि नेपालले आफ्नो प्लेइङ ११ मा परिवर्तन गर्ने सम्भावना रहेको छ ।

क्यानडाविरुद्धको सिरिजका लागि रोहित पौडेलको कप्तानीमा क्यानले १५ सदस्यीय टिम खेलिरहेको छ । क्यानडाविरुद्ध खेल्ने टिममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भिम सार्की, आरिफ सेख, पवन सराफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सुर्य तामाङ, ललित राजबंशी, आकाश चन्द र अनिल शाह रहेका छन् ।

सन् २०१९ मा एकदिवसीय मान्यता गुमाएको क्यानडाले २०२३ क्रिकेट विश्वकप क्वालिफायर प्लेअफमा पपुवा न्यूगिनीलाई पराजित गर्दै ४ वर्षका लागि एकदिवसीय मान्यता पुनः प्राप्त गरेको हो ।

त्यस्तै क्यानडाले आईसीसी टी-२० विश्वकप अमेरिका क्षेत्र छनोटको विजेताको रूपमा पहिलो पटक टी-२० विश्वकपमा समेत आफ्नो स्थान सुरक्षित गरेको छ ।