काठमाण्डौ । नेपालमा शंकास्पद कारोबार बर्सेनि बढ्दै गएको देखिएको छ । नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी एकाइको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/८० मा बैंक तथा वित्तीय संस्थामा ५ हजार भन्दा बढी शंकास्पद कारोबार भएको पाइएको छ ।

गएको आर्थिक वर्षमा कुल ५ हजार ९ सय ३५ वटा शंकास्पद कारोबार भएको देखिएको हो । आर्थिक वर्ष २०७८/७९ मा शंकास्पद कारोबारको सङ्ख्या २ हजार ७ सय ८० मात्र थियो । अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा शंकास्पद कारोबार दोब्बर भन्दा पनि धेरैले बढेको हो ।

OM Sai Pathibhara Hospital

प्रतिवेदनअनुसार वाणिज्य बैंकहरुले ५ हजार १ सय ८७ कारोबार शंकास्पद रहेको जानकारी गराएका छन् । त्यस्तै विकास बैंकहरुले २५७ वटा, फाइनान्स कम्पनीले ४४ वटा, लघुवित्तले २८ वटा, रेमिट्यान्स कम्पनीले १४६ वटा, सहकारीले एउटा र सेक्युरिटिज कम्पनीले ४६ वटा शंकास्पद कारोबारको जानकारी दिएका हुन् । 

संस्थाहरूलाई कुनै पनि कारोबार शंकास्पद लागेमा त्यसको जानकारी तीन दिनभित्र राष्ट्र बैंकको वित्तीय जानकारी एकाइलाई गराउनुपर्ने व्यवस्था सम्पत्ति शुद्धीकरण निवारण ऐनमा उल्लेख छ ।