काठमाण्डौ  ।  निर्देशक कृषा चौलागाईंले निर्देशन गर्न लागेको दोस्रो फिल्मको नाम ‘पिताम्बर’ तय भइसकेको छ । फिल्मको नाम तय गरेर कृषा मोफसल दौडमा छिन् । उनी, काठमाडौं बाहिरका विभिन्न स्थानमा लोकेशन खोजिरहेकी छिन् । फिल्ममा प्रमोद अग्रहरी र कामेश्वर चौरासियालाई पनि उनले फाइनल गरिसकेकी छिन् । 

यसैबिच, यो फिल्ममा शीर्ष भूमिकामा नायक प्रदीप खड्का देखिने भएका छन् । प्रदीपलाई मुख्य भूमिकामा साइन गराएर कृषा लोकेशन हेर्न दौडिएको वुझिएको छ । कृषाले प्रदीप फिल्मको शीर्ष भूमिकामा फाइनल भइसकेको र उनीसँग कागजी संझौता भइसकेको बताइन् । प्रदीपले फिल्मका लागि आफूले कागजी संझौता गरिनसकेको बताएका छन। प्रदिपका अनुसार, आइतबार फिल्मका लागि निर्माण टिमसँग छलफल छ । त्यसपछि, फिल्म साइन गर्ने वा नगर्ने थाहा हुने प्रदीपको तर्क छ । तर, आफू फिल्मको कथालाई लिएर निकै सकारात्मक रहेको प्रदीप बताउँछन् । 

कृषाले फिल्मका लागि अन्य स्टार कलाकारहरूसँग पनि कुरा अगाडि बढाएकी छिन् । पहिलो फिल्म ‘एैँचो पैँचो’मा चिप्लिएपछि कृषा दोस्रो फिल्मलाई लिएर अझै बढी गम्भीर देखिएकी छिन् । यसैले, यसपटक प्रदीप खड्का जस्ता स्टार नायकलाई लिएर काम गर्न उनी अग्रसर भएकी हुन् । 
यता, नायक खड्काको लाइनअप भने लामो देखिएको छ । प्रदीपले अभिनय गर्न लागेको फिल्म ‘पुजार सार्की’को छायांकन केही दिनमै  सुरु हुँदैछ । उनी, फिल्म ‘ऐरी’को तयारीमा पनि छन् ।

यस्तै, उनले फिल्म ‘एक्टर’ पनि साइन गरिसकेका छन् । यस्तै, नायक खड्काले निर्देशक सुदर्शन थापाको फिल्म ‘रावायण’का लागि पनि आउँदो बर्षको साउन महिनामा समय दिएका छन् । यसरी हेर्दा, लामो लाइनअप बनाउँदै प्रदीप अधिकांश मेकरलाई निराश नबनाउने सोचमा देखिएका छन्।