काठमाडौं । आईसीसी यू-१९ विश्वकप २०२४ मा नेपाल अफगानिस्तानलाई हराउँदै सुपर सिक्समा पुगेको छ ।नेपाल समूह डी बाट तेस्रो स्थानमा रहँदै सुपर सिक्समा पुगेको हो ।

अफ्रिकाको इस्ट लण्डनमा शुक्रबार सम्पन्न समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई १ विकेटले हरायो। अफगानिस्तानले दिएको १४६ रनको सामान्य लक्ष्य नेपालले कप्तान देव खनालको अर्धशतकको मद्दतमा ९ विकेटको क्षतिमा पूरा गरेको हो । नेपालका लागि कप्तान देव खनालले अर्धशतकीय पारी खेले । उनले ७३ बल खेल्ने क्रममा सात चौकाको मद्दतमा ५८ रन बनाए । यस्तै दिपक बोहराले २७, आकाश त्रिपाठीले १६, अर्जुन कुमालले १० तथा सुवाश भण्डारीले अविजित नौ रन बनाए । बलिङतर्फ अफगानिस्तानका फरिदुन दाउदजाइले तीन, खलिल अहमद र नासिर खानले दुई दुई तथा अल्लाह मोहम्मद घजानफार र अरब गुलले एक एक विकेट लिए ।

OM Sai Pathibhara Hospital

अफगानिस्तानका लागि ब्याटिङ गर्ने क्रममा अल्लाह मोहम्मद घजानफारले सर्वाधिक ३७ रनको योगदान दिए । उनले २१ बल खेल्ने क्रममा चार चौका र तीन छक्का हिर्काए । त्यस्तै नासिर खानले ८३ बलको सामना गर्दै तीन चौकाको मद्दतमा ३१ रन बनाए । फरिदुन दाउदजाइले २९ तथा हसन इसाखिलले २० रन बनाए । बलिङतर्फ नेपालका आकाश चन्द एक्लैले पाँच विकेट लिए । उनी ‘प्लेयर अफ दी म्याच’ घोषित भए । यस्तै दिपेश कँडेलले दुई तथा गुल्सन झा, सुवास भण्डारी र तिलक भण्डारीले एक एक विकेट लिए ।

नेपालले अब समूह ‘ए’बाट सुपर सिक्समा प्रवेश गरिसकेको भारत तथा सो समूहबाट सुपर सिक्समा प्रवेश गर्ने अन्य दुई देशका टोलीसित दोस्रो चरणको खेल खेल्ने छ ।