काठमाडौँ । उद्योग विभागको महानिर्देशकमा यज्ञ राज कोइराला नियुक्त भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विभागका महानिर्देशक बाबुराम गौतमलाई मन्त्रालय तानेर उनको ठाउँमा मन्त्रालयका सहसचिव कोइरालालाई पठाएको हो । 

विभागलाई गति दिन नसकेपछि, उद्योगीहरूको हितमा काम गर्न नसकेको गुनासोपछि गौतमलाई तान्नु परेको मन्त्रालय  स्रोतको दाबी छ।विभागलाई निकै महत्त्वपूर्ण मन्त्रालयका रूपमा लिइन्छ । देशको उद्योग प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका रहने विभागमा पछिल्लो समय नियमित कामकाज र आफ्ना रहर पुरा गर्ने निकायका रूपमा लिइँदै आइएको देखिन्छ । औद्योगिक विकासका लागि स्वदेशी एवं विदेशी लगानी प्रवर्द्धन गर्नेदेखि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण स्वीकृति प्रदान गर्दै विदेशी लगानीकर्ताहरूको प्रवेशाज्ञा सिफारिस गर्ने जिम्मेवारी विभागकै रहेको छ।

OM Sai Pathibhara Hospital

औद्योगिक एवं विदेशी लगानी कानुन र नीतिको तर्जुमा गर्न सघाउ पुर्‍याउँदै उद्योग दर्ता एवं अनुमति लिनु पर्ने उद्योगको अनुमति प्रदान गर्ने, औद्योगिक सुविधा तथा सहुलियत सिफारिस गर्ने, उद्योगहरूको प्रारम्भिक वातावरणीय परीक्षण सम्बन्धी प्रतिवेदन स्वीकृत गर्ने, आवश्यकताअनुसार उद्योगहरूको वातावरणीय पक्ष लगायतका विषयहरूको अनुगमनका साथै भारत निकासी हुने औद्योगिक वस्तुहरूको उत्पत्तिको प्रमाण पत्र जारी गर्न सहयोग गर्ने र औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्ड र  एकल बिन्दु सेवा केन्द्रको सचिवालयको कार्यसमेत विभागले गर्दै आएको छ ।