काठमाडौं । फिफा विश्वकप २०२६ एसिया छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा आज नेपालले यूएईसँग खेल्दैछ । दुबईस्थित अल माक्तुम स्टेडियममा नेपालको समयअनुसार राति साढे ९ बजे खेल सुरु हुनेछ ।

प्रि म्याच कन्फरेन्समा बोल्दै नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्तो एनेसले फिफा विश्वकप छनोट खेलका लागि राम्रो तयारी गरेको बताए । भिन्चेन्सोले यूएई समूहकै बलियो टोली भएपनि आफू नडराएको प्रतिक्रिया दिएका हुन् ।टिममा युवा खेलाडीको बाहुल्यता रहेका कारण सकारात्मक नतिजा आउने उनको विश्वास छ । उनले उत्कृष्ट युएईसँगको खेल आफूले चुनौतीको रुपमा लिएको उनको भनाइ थियो ।

OM Sai Pathibhara Hospital

नेपाल र यूएई ३९ वर्षपछि आमनेसामने हुन लागेका हुन् । यसअघि १९८४ मा भएको मैत्रीपूर्ण खेलमा यूएईले नेपालमाथि ११-० गोलको फराकिलो जित हात पारेको थियो । यूएईका प्रशिक्षक पाउलो बेन्टोले नेपाललाई कमजोर प्रतिद्वन्द्वीका रुपमा लिने गल्ती नगर्ने उल्लेख गरे । नेपाल लाओसमाथि समग्रमा २-१ गोलको जित हात पार्दै दोस्रो चरण प्रवेश गरेको हो । यो खेलमा फरवार्ड अन्जन बिस्टका लागि राष्ट्रिय पुरुष टिमबाट सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाउने अवसर पनि छ । उनले लाओससंगको खेलमा हरि खड्का र निराजन रायमाझीको नाममा रहेको १३ गोलको कीर्तिमान बराबरी गरेका थिए ।

यूएई सन् १९९० पछि पहिलो पटक विश्वकपमा छनोट हुने लक्ष्यमा छ । नेपाल र यूएईसंगै समूह एचमा बहराइन र यमन छन् । नेपालले समूहको दोस्रो खेल आगामी मंसिर ५ गते घरेलु मैदानमा खेल्नेछ । सन् २०२६ मा अमेरिका, मेक्सिको र क्यानडामा हुने विश्वकपका लागि आजदेखि एसिया क्षेत्र छनोट दोस्रो चरणका खेल सुरु हुन लागेका हुन् ।