काठमाडौं । कालोसूचीमा पर्ने व्यावसायिक संस्था र व्यवसायीको संख्या निरन्तर बढ्दै गएको छ । समयमा ऋण चुक्ता नगर्दा कालोसूचीमा पर्नेको संख्या दिन प्रतिदिन बढेको हो । कर्जा सूचना केन्द्रका अनुसार हाल दैनिक औसत २०० कम्पनी कालोसूचीमा पर्ने गरेका छन् ।

केही समयअघि यस्तो संख्या ४०० सम्म पुगेको थियो । गत आर्थिक वर्ष २०७९र८० मा ३४ हजार ८१ व्यावसायिक संस्था र व्यक्ति कालोसूचीमा परेका थिए । अघिल्लो वर्ष कालोसूचीमा पर्नेको संख्या १५ हजार ९९५ थियो । अघिल्लो वर्षको तुलनामा गएको आर्थिक वर्षमा १८ हजार ८६ बढी व्यावसायिक संस्था र व्यक्ति कालोसूचीमा परेका हुन् ।

OM Sai Pathibhara Hospital

गएको साउन ३२ गतेसम्म कालोसूचीमा पर्नेको संख्या ६३ हजार ८९९ पुगेको केन्द्रले जानकारी दिएको छ । तर, यसभित्र पर्ने व्यक्तिगत जमानीमा बस्नेको संख्या एउटैमा बढी हुन सक्ने कर्जा सूचना केन्द्रका प्रवक्ता विजय कुँवरले बताएका छन।

हालसम्म कालोसूचीको नम्बर ६३ हजार ८९९ पुगेको छ । यो नम्बर मात्र हो । ब्लाकलिस्टको एक नम्बरमा एउटा संस्था परेको छ भने त्यसमा सञ्चालक समितिका सदस्यहरू पनि परेका छन।  

व्यक्तिका हकमा जमानीमा बसेकाहरूको गणना गरिएको छैन । गत वर्ष कालोसूचीमा पर्नेको संख्या दैनिक औसत १०० को हाराहारीमा रहेको थियो । यसमा चेक बाउन्सको ‘केस’ बढी भएको थियो ।

कालोसूचीमा पर्नेमध्ये ७० प्रतिशत चेक बाउन्सको केस रहेको उनले बताए । अरू भने ऋण तिर्न नसकेका छन ।

यसरी कालोसूचीमा परेपछि आर्थिक कारोबार, विदेश भ्रमण, अध्ययनलगायत सुविधा नपाउने व्यवस्था छ । कालोसूचीबाट हटाउन सक्ने पनि व्यवस्था छ । त्यसका लागि खातावाताले पैसा तिरेको प्रमाण केन्द्रमा पेस गर्नुपर्ने हुन्छ ।