काठमाडौँ / नेपालका उपराष्ट्रपति रामसहाय प्रसाद यादव चीन भ्रमणमा जाने भएका छन । उपराष्ट्रपति यादव ‘चाइना– साउथ एसिया एक्सपो’मा सहभागी हुन अर्को साता युन्नान प्रदेशको खुनमिङ् जाने छन । उपराष्ट्रपतिमा निर्वाचित भएपछि यादवको यो पहिलो विदेश भ्रमण हो ।
चीन भ्रमण गरेर उपराष्ट्रपति यादवले आफ्नो विदेश भ्रमण सुरु गर्ने भएका छन । उपराष्ट्रपति यादव साउन २९ मा खुनमिङ् जाने छन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको तयारी भइरहेका बेला त्यस अघि उपरारष्ट्रपति चीन जान लागेका हुन ।
प्रधानमन्त्री दाहाल सेप्टेम्बरको तेस्रो वा चौथो हप्ता चीन जाने भएका छन । परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री दाहालको चीन भ्रमणको तयारी भइरहेको बताएका छन । परराष्ट्र मन्त्रालयले उपराष्ट्रपति यादवको चीन भ्रमणको तयारी गरिरहेको स्रोतले बताएको छ ।
‘चाइना– साउथ एसिया एक्सपोको यो सातौँ संस्करण हो । उक्त एक्सपो अगस्ट १६ देखि २० सम्म चल्ने छ । उक्त एक्सपोको मुख्य उद्देश्य चीन र दक्षिण एसियाली मुलुकहरूको सहकार्य र एकता कायम गरी विकासमा अघि बढनु रहेको छ । खुनमिङ बसाइका क्रममा उपराष्ट्रपति र चिनियाँ कम्युनिष्ट पार्टीका नेताबीच साइडलाइन बैठक समेत हुने स्रोतले बताएको छ ।
































