बिर्तामोड / झापाको बुद्धशान्ति र बाह्रदशी गाउँपालिकालाई तीन बुँदे माग सहित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले ध्यानाकर्षण पत्र बुझाएको छ । अनेरास्ववियु झापाले जिल्लाका १५ वटै पालिकालाई ध्यानाकर्षण गराउने कार्यक्रम अन्तरगत आज बुद्धशान्ति र बाह्रदशी गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

अनेरास्ववियु झापाका जिल्ला अध्यक्ष बलराम गिरीको नेतृत्वमा विद्यार्थीहरूले बुद्धशान्ति गाउँपालिकाका प्रमुख मनोज प्रसाईँ र बाह्रदशी गाउँपालिकाका प्रमुख देवेन्द्र चौलागाईँलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । संविधानले विद्यार्थीहरूलाई प्रदान गरेको माविसम्मको निःशुल्क शिक्षाको हक अधिकार उपलब्ध गराउँदै शैक्षिक क्षेत्रको विसंगति विरुद्ध अनेरास्ववियु झापाले अभियान सञ्चालन गरेको हो ।

OM Sai Pathibhara Hospital

अनेरास्ववियुको तीन बुँदे मागमा नेपालको संविधान २०७२ को भाग ३ धारा ३१ को उपधारा २ मा राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउनुपर्ने भनी मौलिक हकको रुपमा दर्ज गरेको तर विद्यालयहरूले मनोमानी ढंगबाट चर्को शुल्क लिने गरेको पाइएकाले संविधानको उक्त मौलिक हकलाई तत्काल कार्यान्वयन गर्नुपर्ने ।

निजी शैक्षिक संस्था सञ्चालन ऐन अनुसार जम्मा विद्यार्थी सङ्ख्याको १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति प्रदान गरि भर्ना गराउनु पर्नेमा सो प्रकारको छात्रवृत्ति वितरण गरेको नपाइएकाले उक्त ऐनको नियमन गर्नपर्ने । साथै, छात्रवृत्ति वितरण प्रकृयालाई पारदर्शी बनाउन अनिवार्य सूचना पाटीमा प्रकाशन गर्नुपर्नेमा कागजी रुपमा मात्र छात्रवृत्ति वितरण गरेको पाइएकाले उक्त वितरण प्रकृयालाई नियमन गर्दै पारदर्शी बनाउनु पर्ने ।

विभिन्न विद्यालयहरूमा भिन्न भाषाको माध्यमबाट शिक्षा दिने नाममा अधिक शुल्क लिने र एउटै विद्यालयमा विद्यार्थीलाई दुई वर्गमा विभाजन गर्ने प्रवृत्तिलाई अन्त्य गर्दै सबै विद्यार्थीहरूलाई समान, गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने लगायतका मागहरू राखेका छन् ।

अध्यक्ष गिरीले अनेरास्ववियुले विद्यार्थीको हक स्थापित गराउन मात्र हैन त्यसलाई प्राप्त पनि गराउने बताएका छन् । उनले संविधानले विद्यार्थीलाई प्रदान गरेको हक अधिकार कुनै पनि हालतमा विद्यार्थीहरूलाई उपलब्ध गराउने दावी गरेका छन् । साथै अनेरास्ववियु शैक्षिक बेथितिको विरुद्ध लड्ने विद्यार्थी संगठन भएको जिकिर गर्दै उनले सम्पूर्ण विद्यार्थीहरूलाई अनेरास्ववियुमा जोडिन अपिल समेत गरेका छन् ।