काठमाडौँ / विभिन्न अस्पतालमा आँखा पाक्ने रोगको समस्या बढ्दै गएको छ । पछिल्लो केही दिनयता देशभरका अस्पतालहरूमा आँखा पाक्ने समस्या भएका बिरामीहरूको चाप बढेको हो ।काठमाडौंस्थित तीलगंगा आँखा अस्पताल, नेपाल आँखा अस्पताल लगायत देशभरका अस्पतालहरूमा आँखा पाक्ने समस्या भएका बिरामीहरूको चाप बढेको छ । तीलगंगा अस्पतालमा कार्यरत बाल आँखा रोग विशेषज्ञ डा. सृजना अधिकारीले आँखा पाक्ने समस्या लिएर अस्पतालमा दैनिक एक सय जनासम्म आउने गरेको जानकारी बताइन् ।

डा. अधिकारीले भनिन्, ‘त्यो भाइरल इन्फेक्सनले गर्दा फैलिन्छ । धेरैजसोमा इडीनोभाइरल भन्ने भाइरस हुन्छ । त्यसले गर्दा यो रोग फैलिन्छ र, यो आँखा पाक्ने रोगमा चाहिँ आँखा रातो हुने, पाक्ने गर्छ । आँखा पाक्ने साथै रुघाखोकी, ज्वरो पनि आउन सक्छ । कतिपय व्यक्तिमा भाइरल ज्वरो, भाइरल रुघाखोकी हुन्छ । र, कतिपय व्यक्तिलाई आँखा पाक्ने मात्रै भएर आउँछ । महामारी नै भनेर चाहिँ भन्न मिल्दैन ।’ उनले भाइरल इन्फेक्सन र ब्याक्टेरियाको कारणले आँखा पाक्ने समस्या देखिने गरेको बताइन् । धेरैजसो आँखा रातो हुने र चिप्रा आउने समस्या भएका बिरामीहरू अस्पताल आउने गरेको बताइन् । उनले यो पटक विगतको वर्षहरू भन्दा धेरै नै केसहरू देखिएको बताइन् ।

OM Sai Pathibhara Hospital

उनले भनिन्, ‘धेरै जसो व्यक्तिहरूलाई सुरुमा आँखाबाट आँसु आउने, बिझाउने हुन्छ । यस्तै, अप्ठ्यारो महसुस हुने, आँखा रातो हुने, आँखामा चिप्रा आउने हुन्छ । कतिपयमा त चिप्रा आएर आँखा नै टालिने हुन्छ । धेरै जसो बिरामीले बिहान उठ्दा आँखा पूरै टालिएको भनेर भन्नुहुन्छ । उपचार नै नगरेर त्यत्तिकै छोड्यो भने आँखाको भित्री तहमा सेतो रङको पत्रहरू जम्न थाल्छ । लेयरहरु जम्न थाल्छ । त्यो लेयरहरुलाई पनि त्यत्तिकै छोडिदियो भने आँखाको कालो नानीमा पनि घाउ हुनसक्छ । कसै कसैलाई कालो नानीमा घाउ भएर अट्याक गर्नसक्छ ।’ आँखाको नानी विशेषज्ञ डा. लिना बज्राचार्यले भाइरसको कारणले गर्दा इन्फेक्सन भए आँखा पाक्ने समस्या आउने बताइन् । उनले आँखा पाक्ने समस्या जुनसुकै उमेर समूहमा हुनसक्ने र यो एकदम फैलिने बताइन् ।

डा. बज्राचार्यले भनिन्, ‘आँखा पाक्ने समस्या जुनसुकै उमेर समूहमा हुनसक्छ । यो एकदम फैलिन सक्छ । आफूले प्रयोग गर्ने रुमाल, साबुन छुट्टै राख्नुपर्छ । आँखा पाकिहाल्यो भने आइसोलेसनमा बस्नुपर्छ । आँखाको आँसुबाट फैलिन्छ । सँगै बसेर सँगै गफ गरेर फैलिने होइन । एक व्यक्तिको आँखाको तत्त्व अर्को व्यक्तिमा पुग्यो भने फैलिने हो । त्यस कारण कुनै व्यक्तिको आँखा पाकेको छ भने उसले परिवारलाई सर्न नदिनका लागि समय समयमा साबुन पानीले हात धुनुपर्छ, स्यानिटाइजर प्रयोग गर्नुपर्छ । आँखा छोइसकेपछि वा आँखामा ड्रप हालिसकेपछि राम्रोसँग साबुन पानीले हात धुनुपर्छ । क्राउडमा पनि जानुहुँदैन ।’ डा. बज्राचार्यका अनुसार आँखा पाकिहाले आँखा रातो हुने, अफ्ठ्यारो महसुस हुने हुन्छ । यसबाट बच्न आफूले प्रयोग गर्ने रुमाल, साबुन छुट्टै राख्नुपर्ने बताइन् । डा. बज्राचार्यले एक व्यक्तिको आँखाको तत्त्व अर्को व्यक्तिमा पुग्यो भने फैलिन सक्ने भन्दै यो आँसुबाट सर्ने बताइन् ।

उनले भनिन्, ‘कसै कसैलाई त आँखा पाक्ने समस्या भइहाल्यो भने आफैँ पनि ठीक हुन्छ । बढी रातो भएको छ, धेरै बिझाएको छ, धेरै सुन्निएको छ भने हामीले चिकित्सकको परामर्शमा औषधिको प्रयोग गर्नसक्छौं । कसै कसैलाई भाइरस इन्फेक्सनसँगै ब्याक्टेरिया इन्फेक्शनपनि हुनसक्छ । त्यसो भएको खण्डमा यान्टिबायोटिक प्रयोग गर्नुपर्ने हुन्छ । आँखा पाक्यो भने उज्यालोमा हेर्न अफ्ठयारो हुने हुन्छ । भाइरस कन्जनटिभाइटिसले आँखाको नानीमा पनि सङ्क्रमण भयो भने उज्यालोमा हेर्न गाह्रो हुन्छ । त्यस्तो अवस्थामा कालो चस्मा लगाएपछि अलिक सजिलो हुन्छ । कालो चस्मा लगाउँदैमा अरूलाई नसर्ने भन्ने चाहिँ होइन । आँखा धमिलो हुँदै गयो भने चिकित्सकको परामर्श लिनुपर्ने हुन्छ ।’ आँखा रोग विशेषज्ञहरूले कुनै पनि व्यक्तिमा आँखा पाक्ने समस्या देखिए हेलचेक्र्याइँ गर्न नहुने भन्दै आँखा पाकिहाले नजिकको आँखा केन्द्रमा गएर चिकित्सकको परामर्श लिनुपर्ने र जथाभाबी औषधिको प्रयोग गर्न नहुने सुझाव दिएका छन् ।

के गर्ने  ?

- आँखा चिसोले तथा बरफले सेक्ने

- सफा पानीले आँखा सफा गर्ने
- घर बाहिर जाँदा कालो चस्मा प्रयोग गर्ने
- आँखालाई छोएपछि राम्रोसँग हात धुने 

के नगर्ने ?

- सङ्क्रमित आँखालाई सकेसम्म नचलाउने
- स्कुल,कलेज र अन्य भीडभाड भएको ठाउँमा नजाने
- अरूले प्रयोग गरेको रुमाल तौलिया प्रयोग नगर्ने
- आफूखुसी औषधिको प्रयोग नगर्ने