बिर्तामोड / झापाको बुद्धशान्ति गाउँपालिकामा गम्भीर प्रकृतिको रोगका ७९ बिरामीले अघिल्लो आर्थिक वर्ष २०७९/८० मा १ लाखका दरले उपचार सुविधा पाएका छन् ।

गाउँपालिकाले क्यान्सर, मुटु, मिर्गौला, मस्तिष्कघात लगायतका रोग लागेका बिरामीलाई दिएको सिफारिसका आधारमा सरकारद्वारा तोकिएका अस्पतालबाट उनीहरूले सो रकम बराबरको स्वास्थ्योपचार पाएका हुन् ।

OM Sai Pathibhara Hospital

नेपाल सरकारले क्यान्सर, मुटु, मिर्गौला, अल्जाइमर्स, पार्किन्सन्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी र सिकलसेल एनिमियाको उपचारका लागि विपन्न नागरिकलाई उपचारमा सहयोग दिँदै आएको छ ।

बुद्धशान्ति गाँउपालिकका स्वास्थ्य शाखा प्रमुख धिरेन यादवले दिएको जानकारी अनुसार क्यान्सरका  ४६, मिर्गौलाका १८, र मुटु रोगका १५ जनालाई सूचीकृत अस्पतालमा गाउँपालिकाले उपचारका लागि सिफारिस गरेको छ ।

सरकारले बिरामीलाई सिधै रकम दिँदैन । स्थानीय तहको स्वास्थ्य शाखाको सिफारिसका आधारमा सूचीकृत अस्पतालले बिरामीलाई उक्त रकम बराबरको उपचार सेवा तथा औषधि दिने गरेका छन् ।

सरकारले जटिल प्रकृतिका बिरामीका लागि मासिक रुपमा ५ हजारका दरले स्थानीय तहमार्फत औषधि उपचार खर्चको रकम उपलब्ध गराउँदै आएको छ । जस अनुसार पालिकाले आफ्नो क्षेत्र भित्रका जटिल प्रकृति ७० जना बिरामीलाई रु पाँच हजारका दरले मासिक रुपमा औषधि उपचार खर्च बापतको रकम वितरण गर्दै आएको छ ।