काठमाडौँ / अभिनेत्री पूजा शर्मा यस वर्ष विवाह बन्धनमा बाँधिने भएकी छन् । आगामी विजयादशमीमा उनले प्रेमी युद्ध बानियाँसँग लगनगाँठो कस्ने योजना बनाएकी छन् । उनी स्वयंले दशैँमा विवाह गर्न लागेको जानकारी दिइन् । उनका अनुसार, दशैँकै दिन विवाहको तयारी भैरहेको छ । यसपटक आगामी कात्तिक ७ गते दशैँ परेको छ । यही मितिमा प्रेमी युद्धसँग उनले विवाह गर्न लागेकी हुन् ।

उनले भनिन्, ‘दशैंमा विवाहको तयारी भैरहेको छ । यसपालि दशैँको टीकामा राम्रो भएकाले विवाह गर्न लागेका हौं ।’ विवाहअघि उनले प्रेमी बानियाँसँग मिलेर काठमाडौंको झम्सिखेलमा होटल सञ्चालन गर्दैछिन् । होटलको कन्स्ट्रक्सनको काम अन्तिम चरणमा पुगेको छ । अहिले पूजा फिल्म ‘दान्भी’को छायांकनमै व्यस्त छिन् । उनको पाइपलाइनमा अभिनेत्री रेखा थापाको फिल्म पनि छ ।

OM Sai Pathibhara Hospital

पूजा र युद्ध करिब ३ वर्षदेखि प्रेम सम्बन्धमा छन् । आफ्नो फिल्म ‘म यस्तो गीत गाउँछु २’ रिलिजको समयमा पूजाले युद्धसँगको प्रेम सम्बन्ध खुलेर व्यक्त गरेकी थिइन् । त्यसपछि उनीहरु सार्वजनिक कार्यक्रमहरूमा पनि एकसाथ पुग्ने गरेका छन् । पूजा र युद्धको एक पारिवारिक सदस्यको माध्यमबाट चिनजान भएको हो । युद्धले औंठी लगाइदिएर पूजालाई प्रेम प्रस्ताव राखेका थिए ।