काठमाडौँ / हिन्दी फिल्म चल्न नदिने काठमाडौं महानगरको निर्णयविरूद्ध चलचित्र संघले हालेको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ । बिहीबार उच्च अदालत पाटनका न्यायाधीश धीरबहादुर चन्दको इजलासले अन्तरिम आदेश जारी गरेको हो । अहिलेलाई हिन्दी सिनेमाहरू चलाउन पाइने भएको अधिवक्ता जयलाल भण्डारीले जानकारी दिए ।
‘अन्तरिम आदेश जारी भयो । अहिले हिन्दी लगायत कुनै पनि फिल्म रोक नलगाउनु , यथास्थितिमा चल्न दिनू भनेको छ,’ उनले भने। उनी संघका कानुनी सल्लाहकार समेत हुन्। विपक्षीसँग छलफल गर्न असार १२ गते दुबै पक्षलाई बोलाएको छ । हलवालाहरूको छाता संगठन चलचित्र संघले बुधबार उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । मेयर बालेन शाह, नगर प्रहरी, गृह मन्त्रालय र सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयलाई विपक्षी बनाएर निषेधाज्ञाको मुद्दा दायर गरिएको थियो ।
काठमाडौं महानगरका मेयर बालेन शाहले आदिपुरुष मा ‘जानकी भारतकी छोरी हुन्’ भन्ने भ्रमपूर्ण संवाद भारतबाट नहटेसम्म हिन्दी फिल्म चल्न नदिने बताउँदै सोमबारदेखि हिन्दी फिल्म प्रदर्शन रोक लगाएका थिए । तर यो संवाद नै फिल्ममा नभएको जानकारी निर्माता र चलचित्र सेन्सर बोर्ड, नेपालले समेत जानकारी दिइसकेको छ ।