झापा / ताप्लेजुङको पूर्वी क्षेत्रमा निरन्तर वर्षासँगै बाढीपहिरोको कारण विद्यार्थीको पढाइ प्रभावित भएको छ । बाढीपहिरोको कारण बाटो घाटो अवरुद्ध भएकाले विद्यालय जान अवस्था नहरेकाले सिदिङ्वा र सिरिजङ्गा गाउँपालिकामा अध्ययनरत विद्यार्थीको पढाइ प्रभावित हुन पुगेको हो । गत शुक्रबार, शनिवार र आइतबार निरन्तर वर्षाका कारण बाढीपहिरोले सिरिजङ्गा गाउँपालिका–८ आम्फुदीनका रहेको कञ्चजङ्घा माध्यमिक विद्यालय उच्च जोखिममा रहेको छ ।

सो विद्यालय जोखिममा पर्दा त्यहाँ अध्ययनरत एक सय २२ विद्यार्थीका पढाइ प्रभावित भएको सिरिजङ्गा गाउँपालिकाका शिक्षा शाखाले जनाएको छ । जताततै पहिरो गएकाले बाटो अवरुद्ध भएको छ । बाढीले पुल बगाएसँगै खोला तरेर जान सम्भव नभएकाले सिरिजङ्गा गाउँपालिकाले अनिश्चितकालका लागि विद्यालय बन्द गरेको सिरिजङ्गा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत स्काइ पोखरेलले बताए । सिरिजङ्गा गाउँपालिकामा ४२ वटा विद्यालय सञ्चालनमा रहेको छ । बाढीपहिरोको कारणले अहिले गाउँपालिकाका सबै विद्यालय अनिश्चितकालका लागि बन्द भएको छ । त्यस्तै सिदिङ्वा गाउँपालिकामा ३९ वटा विद्यालय रहेको छ ।

OM Sai Pathibhara Hospital

सिदिङ्वा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद बेघाका अनुसार ३९ विद्यालयमा तीन हजार एक सय विद्यार्थी अध्ययनरत रहेका छन् । तर अहिले बाढी पहिरोका कारण सबै शैक्षिक संस्था बन्द गरिएको उनले बताए । बाढीपहिरोको कारण आउँदो बर्खे बिदामा मिलाउने गरी साउन ६ गतेसम्मका लागि विद्यार्थीलाई बिदा दिएको गाउँपालिकाले जनाएको छ । निरन्तर वर्षा र बाढीपहिरोले गर्दा विद्यालय आउजाउमा समस्या भएकाले पाथीभरा याङ्वरक गाउँपालिकाले यही असार ८ गतेसम्मका लागि विद्यालयमा बिदा दिएको गाउँपालिकाले जनाएको छ । रासस