काठमाडौं / काठमाडौं उपत्यकाका भित्र  रहेका फिल्म हलहरुले हिन्दी फिल्मको प्रदर्शनमा रोक लगाएका छन् । काठमाडौं महानगरका मेयर बालेन शाहले ‘आदिपुरुष’ मा समावेश जानकी भारतकी छोरी हुन् भन्ने भ्रमपूर्ण संवाद फिल्मबाट  हटाउन यस अगि ३ दिनको समय दिएका थिए तर उक्त संवाद हटाउन अटेरी गरेपछि हिन्दी फिल्म चल्न नदिने निर्णय हुन् ।

महानगरको आदेशलाई मान्दै आफूहरूले हिन्दी फिल्मको प्रदर्शन रोकेको बिगमुभिजका सञ्चालक दीपेश शर्माले बताए । ‘आजदेखि हामीले हिन्दी फिल्मको प्रदर्शन रोकेका छौं । फिल्ममा समावेश आपत्तिजनक शब्द नेपालबाट हटाइसकेको थियो । भारतमा पनि उक्त संवाद हटाउने पहल भइरहेको छ,’ उनले भने, ‘हामीले महानगरको निर्णयलाई मान्नुपर्छ। तर कहिलेसम्म हिन्दी फिल्मको प्रदर्शन रोक्ने भन्ने निर्णय भएको छैन ।’ हिजो मेयर बालेनले सोमबारदेखि महानगरमा हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने घोषणा गरेका थिए । 

OM Sai Pathibhara Hospital

यो सगैँ पोखरा महानगरपालिकाले पनि सबैखाले हिन्दी फिल्मको प्रदर्शनमा रोक लगाएको छ । सिनेमामा प्रयोग भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द खेदजनक रहेको र उक्त शब्द नसच्याएसम्म पोखराका कुनैपनि सिनेमा घरमा हिन्दी फिल्म चल्न नदिने गरी महानगरले पत्राचार गरेको हो ।

मेयर धनराज आचार्यले सबै सिनेमा घरमा हिन्दी सिनेमा नचलाउन निर्देशन सहितको पत्राचार गरेका छन् । आचार्यले आदिपुरुषको निर्माणपछि नेपालप्रति भारतीय पक्षले गरेको नजर अन्दाज सामान्य नभएको बताए । उनले सामाजिक सञ्जालमा स्टाटस समेत लेखेर आदिपुरुषका संवाद लेखकले अन्तरवार्तामा दिएका विचारले झनै नेपालमाथि धावा बोलेको बताएका छन् ।