काठमाडौं । ओपनर कुशल भुर्तेलको उत्कृष्ट शतकको सहयोगमा नेपालले आइसीसी विश्वकप एकदिवसीय छनोटको आफ्नो अन्तिम वार्मअप खेलमा ओमानलाई हराएको छ । जिम्बावेको हरारेमा बिहीबार भएको खेलमा ओमान २ विकेटले पराजित भएको हो ।

ओमानले दिएको २ सय ६८ रनको लक्ष्य नेपालले ४४ दशमलब ५ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । नेपालका कुशल भुर्तेल ९४ बलमा सर्वाधिक १ सय १ रनको शतकीय ईनिङ खेले । भुर्तेलले १३ चौका र २ छक्का प्रहार गरेका थिए । १ सय १ रन भएको अवस्थामा उनी रिटायर्ड आउट भए ।

OM Sai Pathibhara Hospital

पहिलो विकेटका लागि कुशलले अर्का ओपनर आसिफ शेखसँग मिलेर ७१ रनको साझेदारी गरे । शेख २४ बलमा २३ रनमा आउट भए । दोस्रो विकेटका लागि भीम सार्की र भुर्तेलले १ सय १५ रनको साझेदारी गरे ।

भीमले ७४ बलमा ५६ रनको अर्धशतकीय ईनिङ खेलेका थिए । कप्तान रोहितकुमार पौडेलले २८ बलमा ३१ रन बनाए । दीपेन्द्रसिंह ऐरीले २२ बलमा २६ रन बनाए ।

कुशल मल्ल १७ रनमा आउट भए । सन्दीप लामिछाने १ बलमा ६ रन बनाउँदै अविजित रहे । ओमानका लागि अकिब ईलियासले ४ तथा फैयाज बटले २ विकेट लिए ।करिमुल्लाह १ विकेट आफ्नो नाम गरे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमान ४९ दशमलब २ ओभरमा अलआउट हुदै २ सय ६७ रन बनायो ।

ओमानका लागि कप्तान जिशान मकसुदले १ सय ६ बलमा १ सय ९ रनको शतकीय ईनिङ खेले । मकसुदले १ सय बलमा शतक पूरा गरेका थिए । मकसुदले १५ चौका र १ छक्का प्रहार गरेका थिए ।