काठमाडौँ   ।    नेपाल राष्ट्र बैङ्कले सहुलियत दरमा प्रदान गर्दै आएको पुनर्कर्जातर्फको लगानी २०७९ चैत मसान्तमा पाँच अर्ब ७७ करोड रुपियाँ रहेको छ ।

२०७९ चैत मसान्तमा एक लाख ४७ हजार ८०७ ऋणीलाई प्रवाह भएको दुई खर्ब पाँच अर्ब ११ करोड रुपियाँ सहुलियतपूर्ण कर्जा बक्यौता रहेको राष्ट्र बैङ्कले जनाएको छ।

OM Sai Pathibhara Hospital

यसमध्ये कृषि तथा पशुपन्छी व्यवसाय कर्जा अन्तर्गत ६१ हजार दुई सय ऋणीलाई प्रवाह भएको एक खर्ब ३९ अर्ब ६५ करोड रुपियाँ कर्जा बक्यौता रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ८३ हजार ७५१ महिला उद्यमीलाई प्रवाह भएको ६२ अर्ब २८ करोड रुपियाँ कर्जा बक्यौता रहेको छ ।

सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत दुई हजार ८५६ ऋणीको तीन अर्ब १८ करोड रुपियाँ कर्जा बक्यौता रहेको छ।

‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७’ बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु-याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि प्रवाह भएको कर्जा २०७९ चैत मसान्तमा ६५ करोड ८७ लाख रुपियाँ बक्यौता रहेको छ ।

पुनर्संरचना गरिँदै - सहुलियतपूर्ण कर्जामा पहुँच नपुगेको तथा सरोकारवाला पक्षले यसको उपभोग गर्न नपाएको आमगुनासोलाई मध्यनजर गर्दै सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यक्रमलाई पुनर्संरचना गरिने भएको छ ।

उत्पादन अभिवृद्धि, आन्तरिक रोजगारी प्रवर्धन, उद्यमशीलता विकासलगायतका उद्देश्य राखी सहुलियतपूर्ण ब्याजमा प्रवाह भइरहेका कर्जाको प्रभावकारिता अध्ययनका आधारमा सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यक्रमलाई पुनर्संरचना गरिन लागेको हो ।