काठमाडौं । नेपाल सरकार र विश्व बैंकबीच १५ अर्ब ८४ करोड (अमेरिकी डलर १२ करोड) बराबर सहुलियतपूर्ण ऋण र दुई अर्ब ६० करोड रुपैयाँ (अमेरिकी डलर एक करोड ९७ लाख) बराबर अनुदान प्राप्तिसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

आज बुधवार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच अर्थ सचिव अर्जुनप्रसाद पोखरेल र विश्व बैंकका लागि माल्दिभ्स, नेपाल र श्रीलङ्काका देशीय निर्देशक फारिस हदाद जर्भोसले यो सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

OM Sai Pathibhara Hospital

विश्व बैंकअन्तर्गतको इन्टरनेसनल डेभलपमेन्ट एसोसिएसन (आईडीए) ले ‘ग्लोबल पार्टनरशिप फर एजुकेसन’ कार्यक्रममार्फत नेपालका सरकारी विद्यालयको पाठ्यक्रम विकास, पूर्वाधार निर्माण र सिकाइ गुणस्तर सुधारका लागि यस्तो ऋण र अनुदान दिएको हो ।

नेपालमा लागू भइरहेको विद्यालय क्षेत्र सुधार कार्यक्रम (स्कुल सेक्टर ट्रान्सफरमेसन प्रोग्राम) मार्फत यो रकम खर्च हुनेछ ।