काठमाडौं   ।  अर्थमन्त्री डा प्रकाशशरण महतले प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिसँग अर्थतन्त्रमा अहिलेको सूचकहरूका बारेमा छलफल गरेका छन्।

सिंहदरबारमा बसेको समिति बैठकमा अर्थतन्त्रको अवस्था र सूचकहरूका बारेमा अर्थमन्त्रीले छलफल गरेका हुन्। अर्थमन्त्री महतलाई सांसदहरुले वर्तमान अवस्थाबारे जिज्ञासा राखेका थिए ।

OM Sai Pathibhara Hospital

सांसदहरुको जवाफ दिँदै मन्त्री महतले भने, 'स्वदेशमा अवसर छैन भने विदेशमा गएर आफ्नो उन्नति गर्ने ढोका बन्द गर्नुहुँदैन। हामी नेपालमै अवसरहरु सिर्जना गर्दै लैजाने हो।' 

युवाहरुको क्षमता छ जसलाई देशभित्रै प्रयोग गर्ने मान्यतालाई प्राथमिकतामा राखिने उनले बताए।

उत्पादन कसरी बढाउने भन्ने कुरालाई प्राथमिकतामा राख्नुपर्छ। नेपालमा अहिले जुन उद्योग व्यवसाय छ, त्यसमा धेरैजसो हाम्रो भ्यालु एडसिन कम छ।   

भ्यालु एडिसन ज्यादा भन्दा ज्यादा देशभित्र नै होस् भन्ने कुरा प्राथमिकतामा रहन्छ, नेपाली उद्योग व्यवसायीलाई प्रमोट गर्ने जस्ता कुरालाई आउँदो बजेटमा प्राथमिकता दिन्छौं।

उनले बढीभन्दा बढी नेपाली उद्योग व्यवसायलाई प्रवर्द्धन गर्ने नीतिमा जाने बताए।

ज्ञान र अनुभवलाई म उपयोग गर्छु। ठूलो स्वरमा कुरा गर्दिन। सुधारको आवश्यकता छ। दुई महिनाभित्र मेरो ज्ञान र अनुभव उपयोग गरेर सारा समस्या सफाचट हुन्छ भन्दिन।

महतले कार्यान्वयन मूल चुनौति रहेको स्वीकारे। नौ महिनापछि स्रोत रिलिज गर्दिनुपर्‍यो, अब हामी ठेक्का लगाउँछौं भनेर आउँछन् ।

९ महिनासम्म के गरेर बस्यो? बजेटपछि लगत्तै असार मसान्तसम्मको काम छँदैछ, गृहकार्य तत्काल सुरु गछौं। यी कुराहरु यो समयभित्र गरिसक्ने भनेर कार्यतालिका बनाउँछौं। 

हाम्रो पूँजीगत खर्चको प्रभावकारिता बढ्छ। पूँजी प्रवाह बढ्छ। यसले आर्थिक वृद्धिदरलाई मद्दत गर्छ भन्ने विश्वास मैले लिएको छु।

उनले एउटा व्यक्ति, व्यवसायको फाइदाका लागि केही नगर्ने दावी समेत गरे। पूँजीगत खर्च, राजश्व परिचालनले गुणस्तरीय उत्पादन हुन्छ कि हुँदैन भन्नेमा ध्यान केन्द्रित हुने उनले बताए ।'

मैले आफ्नो टिममा यी कुरा बलियोसँग राखेको छु। सिस्टमबाट आएका कुरा ठीक छन् कि छैनन यी सबै कुरा दिनरात म हेरिरहेको छु। यहाँ राजनीतिक दल यो वा त्यो भनेर हेरेको छैन।

यहाँ देश र जनताको कुरा छ। म व्यक्ति र पार्टीभन्दा माथि उठेर काम गर्छु,’ महतले भने।

उनले अहिले राजस्व कम उठ्यो, त्यही आधारबाट माथि उठेर हामीले कामको सुरुवात गर्न परेको सुनाए।

'राजस्व घटेको स्थानमा मैले हेरिरहेको छु। ती कुरालाई हामी सुधार गर्छौ। यति गर्दागर्दै पनि यो आर्थिक वर्षमै गति लिएर ३५–४० प्रतिशत बढी राजस्व उठाउन सक्छु भन्ने अवस्था छैन,’ अर्थमन्त्री महतले भने, ‘वैदेशिक ऋणले हाम्रो अर्थतन्त्रलाई सहयोग पुगेको छ कि छैन? यसको समीक्षा हुन जरुरी छ।

यो समीक्षा गरेर हाम्रो आवश्यकताअनुसार ल्याउन आजको भोलि नै सम्भव छैन। यसको पनि सीमा छ। यससँगै हामीले खर्च गर्ने क्षमता पनि देखाउन आवश्यकता छ।’

उनले भूकम्पका बेलामा लिएको ऋणको पनि भुक्तानी नभइसकेको बताए। ऋण भुक्तानीमा ध्यान केन्द्रित गर्न थाल्यो भने साधारण र पूँजीगत खर्चमा दबाब सिर्जना हुने उनको भनाई थियो।

'प्रशासनिक खर्चको सीमा छ, सामाजिक सुरक्षा खर्च हटाउन सक्दैनौं। सार्वजनिक स्वास्थ्य शिक्षाको लगानी कटाउन सक्दैनौं,' उनले भने, 'यस बिचमा हामी ऋण भुक्तानीको दायित्वबाट हामी भाग्न सक्दैनौं। यो जति दबाब बढ्दै जान्छ, हाम्रो आन्तरिक आवश्यकतामा दबाब पर्छ।

पूँजीगत खर्च गर्नुपर्ने चौतर्फी मागलाई सम्बोधन गर्न हामीसँग श्रोत सीमित छ। यो असन्तुलनको बिच हामीले काम गर्नुपर्ने आवश्यकता छ।' 

उनले अहिले देखिएको समस्या एकैपटक समाप्त नहुने बताए। उनले एकएक गरी समस्या सुल्ट्याउँदै प्रष्ट मार्गचित्र कोर्ने बताए। ‘इमान्दार र समर्पणका साथ काम गर्दै जाने हो।

तपाईंहरुको सहयोग चाहिन्छ। शंका गर्नुस्। प्रश्न उठाउनुस्,' मन्त्री महतले भने, 'तर, यसले गम्भीरताका साथ प्रयास गरेको छ भन्ने कुरा एउटा कुनामा स्पेस राख्न अनुरोध गर्दछु।'

बैठकमा एमालेका सूर्यबहादुर थापा, पदम गिरी, राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्ले, विराजभक्त श्रेष्ठ, नेकपा एकीकृत समाजवादी पार्टीका भवानी खापुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका ज्ञानेन्द्र शाहीलगायतले अर्थमन्त्री डा. महतलाई प्रश्न गरेका थिए।

अर्थ समितिको बैठक नेपाली कांग्रेसका सांसद एवं समितिका ज्येष्ठ सदस्य सन्तोष चालिसेको सभापतित्वमा बसेको थियो ।