काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमण देखिएमा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको छ ।
मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले कोरोना भाइरस सङ्क्रमणका कारण ज्वरो र सास फेर्न कठिनाइ भएको अवस्थामा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेका छन्।
सात दिनसम्म आइसोलेशनमा बसेर आठौं दिनमा बाहिर निस्केपनि अरु मानिसको सम्पर्कमा नजानसमेत मन्त्रालयको आग्रह छ ।
मन्त्रालयले आइसोलेशनमा रहेकाले मिलेसम्म छुट्टै शौचालय भएको प्रशस्त हावा आउने छुट्टै कोठामा बस्ने तथा नाक, मुख र चिउडो छोपिने गरी मास्क लगाउने र प्रयोग गरिएको मास्कको उचित व्यवस्थापन गर्ने तथा बेला-बेलामा साबुन पानीले हात धुन आग्रह गरेको छ ।
साथै ,कुनै पनि लक्षण नरहेको, पाँच दिनसम्म आइसोलेशनमा बसेको वा पाँच दिनभन्दा बढी बसेको, २४ घण्टाभित्र ज्वरोको औषधि नखाइ नै ज्वरो कम भएको भए आइसोलेशनमा बस्नु नपर्ने मन्त्रालयका सहप्रवक्ता अधिकारीको भनाई छ ।