काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनकि आमा तीर्थमालीमाथि गोली प्रहार गर्ने व्यक्ति कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुरक्षामा खटिने सुरक्षाकर्मी रहेको खुलेको छ। तिर्थमाया माथि शुक्रबार राति साढे ९ बजे गोली चलाएको हो।
गएराति बालुवाटारस्थित पुनकै निवासमा प्रहरी सहायक हवलदार प्रकाश पुन मगरले गोली प्रहार गरेका हुन्। उनी तीर्थमाली नाताले नाति रहेको प्रहरीले जनाएको छ।
नयाँ वर्ष मनाउन पुनको निवास पुगेका मगरले पुनकी आमा ७४ वर्षीया तीर्थमालीमाथि गोली प्रहार गरेको नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता एसएसपी दिपेन्द्र जिसीले जानकारी दिए।
प्रहरीले घटनास्थलबाट चिनियाँ पेस्तोल ‘टाइप–५४’ बरामद गरेको छ। मगर नयाँ वर्ष मनाउन वर्षमान पुनको निवासमा गएका थिए।
गोली चलाउने प्रहरीलाई राति १ बजे नियन्त्रणमा लिइएको छ। उनि माथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । नेता पुन भने उपचारका लागि चीन गएका छन।
वर्षमानकी आमाको गोडामा गोली लागेको छ। ट्रमा सेन्टरमा उनको उपचार हुँदैछ। घटनाबारे अनुसन्धान गरिरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।