काठमाण्डौ   ।   केही वर्षयता नेपाली फिल्मका स्टार कलाकारहरुले बुझ्ने पारिश्रमिक बहसको विषय बनिरहेको छ। उनीहरुले महंगो पारिश्रमिक लिँदा फिल्मको निर्माण लागत अचाक्ली बढेको तर व्यापार नबढेको गुनासो धेरै निर्माताको छ ।

फिल्मको लागत बढ्नबाट रोक्न र निर्मातालाई बचाउनका लागि अबदेखि स्टार कलाकारहरु सेयरमा बस्नुपर्ने निर्माता संघका अध्यक्ष नवल खड्काले बताएका छन् ।

बुधबार काठमाडौंमा कलाकार संघको एक कार्यक्रममा खड्काले भने, ‘स्टारहरुले ५०/६० लाख पारिश्रमिक लिइदिँदा निर्माताको लगानी सुरक्षित हुन सकिरहेको छैन ।

OM Sai Pathibhara Hospital

केही स्टार कलाकारहरुको न्यूनतम पारिश्रमिक तोक्न कलाकार संघले पहल गरोस् भन्ने मेरो आग्रह छ । उहाँहरुलाई स्टारडममा त्यत्ति धेरै विश्वास छ भने निर्मातासँग पार्टनरसिपमा बसेर आफ्नो स्टारडमलाई भजाउनुहोस् ।’

प्राविधिक संघले प्राविधिकलाई घन्टाको पाबन्दी राख्ने, नृत्यकार संघले नृत्य कलाकारहरुको पारिश्रमिक बढाउने, स्टार कलाकारले महंगो पारिश्रमिक लिँदा निर्माता मारमा परेको अध्यक्ष खड्काको भनाई छ।

‘यस वर्ष ७/८ वटा फिल्मले लगानी उठाउन सफल भए । बाँकी निर्माताहरु डुबानको स्थितिमा छन्,’ नवलले भने, ‘त्यसैले सबै मिलेर निर्मातालाई बचाउनु अहिलेको आवश्यकता हो ।’

उक्त कार्यक्रममा कलाकार संघका अध्यक्ष मोहन निरौलाले चलचित्र नखेलेका व्यक्तिको सदस्यता खारेज गर्ने घोषणा गरे । ‘जसले चलचित्र खेलेको छैन र हाम्रो विधानको परिधिभित्र छैन, त्यो सदस्य छ भने निर्वाचनको प्रक्रियालाई पर्खेर बस्दैनौं ।

हामी त्यसलाई खारेजै गर्छौं, ढुक्क हुनुस्,’ उनले भने । संघले सदस्य रहेका कलाकारको अभिलेखिकरण गर्ने काम सुरु गरेको पनि उनले बताए ।