झापा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।
बिहीबार अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सहमति नभएपछि मन्त्रिपरिषद् विस्तार मिति सरेको थियो ।
बिहीबार नै मन्त्रिपरिषद् विस्तार गर्नेगरी छलफल गरिएपनि सहमति जुट्न ढिलाइ भएपछि आज शुक्रबारका लागि समय सरेको हो ।
यद्यपि अझैपनि सबै पार्टीले पाउने मन्त्रालयको टुंगो भने लागिसकेको छैन ।आज शुक्रबार बिहान एक चरण छलफल गरेर दिउँसोसम्ममा शपथ दिलाउने गठबन्धनको तयारी रहेको एक नेताले बताए ।
सुक्रबार आज दिउँसो ३ बजे नयाँ मन्त्रीहरूको सपथ ग्रहण कार्यक्रम आयोजना गरिएको बताइएको छ ।
सत्तागठबन्धनभित्र कांग्रेसले ८, माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) ले २/२ र जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टीले १/१ मन्त्रालय पाउने सहमति जुटेसँगै बिहीबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी थियो ।
तर, केही मन्त्रालयमा एक भन्दा बढी दलहरू दाबी प्रस्तुत गरेपछि विवाद उत्पन्न हुँदा स्थगित भएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफैं मन्त्रालय मिलाएर सपथ गराउने तयारी गरेका छन् । तर, सरकारमा सहभागी हुने दलहरू सबैले मन्त्री बन्नेहरूको नामावली दिएका छैनन् ।