काठमाडौं /सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खसेपछि सुरक्षा संरचनामा क्षति पुगेको छ।

शुक्रबार राति खसेको पहिरोका कारण सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट बीओपी तातोपानीका विभिन्न संरचना प्रभावित भएका हुन्। सशस्त्र प्रहरीका अनुसार राति करिब १ः१५ बजे बीओपीको उत्तर–पश्चिमतर्फ रहेको करिब २०० देखि ३०० मिटर अग्लो डाँडाबाट ढुङ्गासहितको सुख्खा पहिरो खसेको थियो। पहिरोबाट उछिट्टिएका ढुङ्गाले बीओपीका भवन तथा ड्युटी पोस्टमा क्षति पुर्‍याएको भए पनि मानवीय क्षति भने भएको छैन।

पहिरोका कारण पहिलो लाइन ब्यारेकको एउटा झ्यालको सिसा फुटेको छ। दोस्रो लाइन ब्यारेकको भित्तामा प्वाल परेको छ भने जस्ताको छानामा समेत छ वटा प्वाल परेको सशस्त्र प्रहरीले जनाएको छ। यस्तै, एउटा ड्युटी पोस्ट पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने अर्कोमा आंशिक क्षति पुगेको छ। सशस्त्र प्रहरी निरीक्षकको बाथरुमको भित्तामा समेत प्वाल परेको छ।

पहिरोबाट हिमाली ज्याकेट राख्ने स्थान, राष्ट्रिय झण्डा राखिएको पोल, जिन्सी स्टोर भवन तथा बीओपीको मुख्य प्रवेशद्वारअगाडिको सिँढीमा समेत क्षति पुगेको छ। घटनापछि सुरक्षाकर्मीले क्षतिको विवरण संकलन गर्नुका साथै प्रभावित संरचनाको अवस्था मूल्यांकन र आवश्यक सुरक्षा व्यवस्थापनको काम अघि बढाएका छन्।

तातोपानी क्षेत्र भौगोलिक रूपमा जोखिमयुक्त हिमाली क्षेत्रमा पर्ने भएकाले पहिरो तथा ढुङ्गा खस्ने जोखिमलाई मध्यनजर गर्दै सुरक्षा संरचनाको थप व्यवस्थापन आवश्यक देखिएको छ।