बाग्मती । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले तत्काल मिटरब्याज पीडितको समस्या समाधान गर्न सरकारसँग जोडदार माग गरेको छ ।
महासंघले आज प्रेस विज्ञप्ति जारी गर्दै मिटरब्याजको कारोबारलाई गैरकानुनी घोषणा गर्न सरकार सग माग गरेको हो ।
अखिल नेपाल किसान महासंघले मिटरब्याजको कारोबार गर्ने गरिब तथा किसानमारा सुदखोरलाई कडाभन्दा कडा कारबाही गर्न समेत माग गरिएको छ ।
महासंघका अध्यक्ष चित्रबहादुर श्रेष्ठले साँवा रकम बराबर ऋण भुक्तान गरेका सबै ऋणीको ऋण पूर्णरूपमा मिनाहा गर्नु पर्ने बताएका छन ।
उनीहरूको ऋणको लिखत कागजलाई अवैधानिक घोषणा गरी बदर गर्नसमेत महासंघले आग्रह गरेको छ ।
ऋण उठाउने नाममा ऋणीलाई भौतिक यातना वा यातनाको धम्की दिने, परिवारका सदस्यलाई समेत असुरक्षित महसुस गराउने र मानसिक यातना दिने सबै मिटरब्याजीलाई अविलम्ब गिरफ्तार गरी कडा भन्दा कडा कारबाही गर्न महासंघको माग छ ।
महासंघले मिटरब्याज पीडितसँगको वार्ता र घटनाको छानबिनलाई तीव्रता दिन र पीडितलाई तत्काल न्याय दिन गर्न माग गरेको छ ।