काठमाडौं - भारतमा जबरजस्ती देह व्यापारमा लगाइएका १० महिलाको उद्धार गरिएको छ । बिहीबार भारतको राजधानी दिल्लीको किशनगढ क्षेत्रमा फ्ल्याटमा राखेर यौन धन्धामा लगाइएका महिलाहरूको उद्धार गरिएको हो । उनीहरूलाई नेपाल प्रहरी, मानव बेचबिखनविरुद्धको अनुसन्धान ब्युरो, नेपाली राजदुतावास, कीन इण्डिया, शक्ति समूह र दिल्ली पुलिसको संयुक्त पहलमा उद्धार गरिएको हो ।
‘मिसन फ्ल्याट’ नामक अभियान चलाएर यौन धन्धामा लगाइएका महिलाहरूलाई उद्धार गरी मानव बेचबिखनविरुद्धको अनुसन्धान ब्युरोलाई बुझाइएको हो । उद्धार गरिएका महिलाहरूको उमेर १५, १६, १७, १८, २० र २५ वर्ष रहेको छ । उनीहरू नुवाकोट, काठमाडौं, काँस्की, खोटाङ लगायतका जिल्लाका रहेको बताइएको छ । उद्धार गरिएकी मध्ये एक महिलाले आफूलाई राम्रो जागिर छ भन्दै दिल्ली पुर्याइएको र त्यहाँ पुगेपछि जबरजस्ती यौन धन्धामा लाग्नुपर्ने भनिएको बताइन् ।
मिसन फ्ल्याटका बारेमा बताउँदै नेपाली राजदूतावासमा खटिएका एसएसपी उमाकान्त चतुर्वेदीले पोखराबाट चार युवती हराएको भन्ने रिपोर्ट जिल्ला प्रहरी कार्यालय, प्रहरी प्रधान कार्यालय, मानव बेचबिखन अनुसन्धान ब्युरो र प्रहरी महानीरीक्षकको सचिवालय हुँदै दिल्ली दूतावासमा आफूलाई प्राप्त भएको बताए ।
त्यसपछि खोजीका लागि शक्ति समूह, कीन इण्डिया र स्थानिय पुलिससँग समन्वय गर्दा शक्ति समूहले हराएका ४ मध्ये एक युवतीलाई फेला पारेका थिए । ती युवतीले हराएका बाँकी तीनजना रहेको स्थानको ठेगाना बताएपछि अन्य नेपालीहरू फेला परेको उनले बताए । कीन इण्डियाका प्रमुख नवीन जोशीका अनुसार युवतीले दिएको सूचनाका आधारमा उनीहरूलाई राखिएको फ्ल्याटमा कोही नभेटिएपछि अन्य फ्ल्याटमा छापा हानेको थियो । ४८ घण्टाको निरन्तरको खोजीपछि महिलाहरूको उद्धार गर्न सकिएको उनले बताए ।
प्रारम्भिक अनुसन्धानमा खुलेको जानकारीका अनुसार नेपालमा रहेका उनीहरूका सहयोगीहरूले भारतमा राम्रो तलबमा काम दिने बहानामा नेपाली महिलाहरूलाई दिल्ली पुर्याउने गरेको बताएका छन् । टिकाराम भण्डारी र उनकी श्रीमती टिका ओलीले उनीहरूलाई दिल्लीमा फ्ल्याटमा राखेर यौनधन्धा गराउने गरेको खुलेको छ ।