काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईको पारिश्रमिक २० प्रतिशतले बढेको छ । माघ २३ गते आधिकारिक रुपमा नेपाली टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका देसाईको पारिश्रमिकमा मासिक दुई हजार डलर वृद्धि भएको नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव दूर्गाराज पाठकले बताए । पाठकले देसाईको पारिश्रमिक सम्झौताअनुरुप नै बढेको बताए ।

“नेपालको प्रशिक्षण सम्हाल्ने बेला भएको सम्झौताअनुरुप नै प्रशिक्षकको पारिश्रमिक बढेको हो । त्यसबेला नेपालले एकदिवसीय मान्यता जोगाए पारिश्रमिक बढाउने सम्झौता थियो । र, सोही सम्झौताअनुरुप अहिले प्रशिक्षकको पारिश्रमिक दुई हजार डलर बढेको हो,” पाठकले बताए ।

OM Sai Pathibhara Hospital

क्यानले यसअघि प्रशिक्षक देसाईसँग प्रतिमहिना १० हजार डलर पारिश्रमिकसहित सम्झौता गरेको थियो । अब भने देसाईले प्रतिमहिना १२ हजार डलर पारिश्रमिक पाउनेछन् । देसाईको प्रशिक्षणमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ को १२ खेलमध्ये ११ मा जित निकाल्दै जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकपको छनोटमा स्थान पक्का गरेको थियो ।