झापा - मछिन्द्र क्लबका प्रशिक्षक प्रवेश कटुवाल राष्ट्रिय टिमको सहायक प्रशिक्षकमा नियुक्त भएका छन् । ए डिभिजन लिगको डिफेन्डिङ च्याम्पियन मछिन्द्र क्लब सम्हालिरहेका प्रवेशलाई अखिल नेपाल फुटबल संघ एन्फाले बुधबार नियुक्ति दिएको हो ।

प्रवेश कटुवालले कात्तिक ३० गते पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा पनि राष्ट्रिय टिमको प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । २०६१ सालमा थ्री स्टार क्लबबाट लिग फुटबल खेल्न थालेका उनले खेलाडी भएर मनाङ मस्र्याङ्दी, आरसीटी र मछिन्द्रबाट खेलेका थिए । उनले झापा ११ बाट राष्ट्रिय लिग पनि खेले ।

OM Sai Pathibhara Hospital

कटुवालले एएफसी ए लाइसेन्स पूरा गरेपश्चात पहिलो पटक २०७६ सालमा ए डिभिजन लिगमा प्रशिक्षकको रुपमा काम गरे । उनले मछिन्द्रलाई लागातार २ पटक लिग च्याम्पियन बनाएका थिए ।राष्ट्रिय टिममा विनोद डंगोलले गोलकिपर प्रशिक्षकको रुपमा काम गर्ने भएका छन् । एन्फाले राष्ट्रिय फुटबल टिमका प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसलाई यसअघि नै नियुक्त गरिसकेको छ ।

काठमाडौंमा चैत ८ गतेदेखि सुरु हुने प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताका लागि राष्ट्रिय टिमको तयारी गर्नु एनेस, कटुवाल र डंगोलको पहिलो जिम्मेवारी बनेको छ ।