काठमाडौं  : इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई ७– ० गोलको फराकिलो अन्तरले पराजित गरेको छ।  लिभरपुलको जितमा मोहम्मद सल्लाह, कोडी गाक्पो र डार्विन नुनियाजले २–२ गोल गरे।​

एन्फिल्डमा भएको खेलमा कोडी गाक्पोले गोल गर्दै लिभरपुललाई पहिलो हाफमा १–० गोलको अग्रता बनाए। उनले पहिलो हाफ सकिन २ मिनेट मात्र बाँकी हुँदा एन्डी रोबर्टसनले दिएको पासमा गोल गरेका हुन्।

OM Sai Pathibhara Hospital

दोस्रो हाफको पुरै समय लिभरपुलले आफ्नो नियन्त्रणमा लिएको थियो। ४७ औँ मिनेटमा नुनियाजले गोल गरेर लिभरपुलको अग्रता दोब्बर बनाए। ५० औँ मिनेटमा गाक्पोको व्यक्तिगत दोस्रो गोलमा योर्गन क्लोपको टोली ३ –० ले अघि रह्यो।

६६ औँ मिनेटमा मोहम्मद सलाहाले गोल थप्दा नुनियाजले ७५ औँ मिनेटमा अर्को गोल गरे। ८३ औँ मिनेटमा काउन्टर अट्याकमा बल बढाउँदै सलाहाले व्यक्तिगत दोस्रो गोल गरे। यो गोलसँगै सलाहा लिभरपुलको सर्वाधिक गोलकर्ता बनेका छन्। उनको गोल संख्या एक सय २९ पुगेको छ। उनी लिभरपुलबाट युनाइटेडविरुद्ध सर्वाधिक १२ गोल गर्ने पहिलो खेलाडी बनेका छन्। निर्धारित समय सकिन २ मिनेट बाँकी रहँदा सिजनको अन्त्यमा लिभरपुल छाड्ने घोषणा गरिसकेका फिर्मिन्होले क्लोज रेन्जबाट गोल गरे। यो लिभरपुलले प्रिमियर लिगमा हात पारेको सबैभन्दा ठूलो अन्तरको जित हो।

यसअघि १८९५–९६को सिजनमा दोस्रो श्रेणीमा हुँदा एन्फिल्डमै न्युटन हेल्थलाई ७ –१ गोलले हराएको थियो। यो जितपछि लिभरपुल शीर्ष पाँचमा उक्लिएको छ। उसको २५ खेलबाट ४२ अंक भएको छ। यता युनाइटेडको समान खेलबाट ४९ अंक छ। युनाइटेड तेस्रो स्थानमा छ।

गएराति नै भएको अर्को खेलमा नटिङ्घम फरेस्ट र एर्भटनले २–२ को बराबरी खेले। एभर्टन रेलिगेशनबाट जोगिन संघर्षरत छ। उसको २६ खेलबाट २२ अंक भएको छ। त्यस्तै नटिङ्घमले २५ खेलबाट २६ अंक बनाएर तालिकाको १४औँ स्थानमा छ।