भद्रपुर-  प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको छ । मंगलबार भएको फाइनल खेलमा मछिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो ।

OM Sai Pathibhara Hospital


जितसँगै आर्मीले नगद १३ लाख पाएको छ । उपविजेता बनेको मछिन्द्रले ७ लाखमा चित्त बुझाएको छ ।


टाइब्रेकरमा मछिन्द्रका रेजिन धिमाल र देवेन्द्र तामाङको प्रहार आर्मीका गोल रक्षक समित श्रेष्ठले रोकेका थिए ।


टाइब्रेकरमा आर्मीका सेसेहाङ आङदम्बेको प्रहार मछिन्द्रका रक्षक विशाल श्रेष्ठले रोके ।


टाइब्रेकरमा आर्मीका दिपेन्द्र कार्की, सन्तोष केसी, रिपु भुलाल र सुशान्त चौधरीले गोल गरे ।


टाइब्रेकरमा मछिन्द्रका दिवाकार चौधरी, सुजल श्रेष्ठ र दिपेश घलेले गोल गरे ।


निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा टुंगिएपछि खेलमा थप १४ मिनेट अतिरिक्त समय खेल खेलाइयो । अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा आर्मी भाग्यमानी सवित भयो ।


निकै प्रतिस्पर्धात्मक खेलमा मछिन्द्रले पाएका अवसर सदुपयोग गर्न सकेन । आर्मीको तुलनामा मछिन्द्रले राम्रो खेले पनि फिनिसिङ लाइन कमजोर हुँदा उपविजेतामा चित्त बुझाउन प¥यो ।


खेलको ७३ औँ मिनेटमा आर्मीका सुदिल राई र मछिन्द्रका ओमोलाजा करिमले आपसमा झगडा गरेपछि रातो कार्ड खाँदै मैदान बाहिरिएको थिए । उनीहरु मैदान बाहिरिएपछि दुवै टोली १० खेलाडीमा सीमित भएको थियो ।


खेलमा उत्कृष्ट गोलरक्षक आर्मीका समित श्रेष्ठ, उच्च गोलकर्ता मछिन्द्रका सुजल श्रेष्ठ र चर्च ब्वाइजका आशिस चौधरी, उदीयमान खेलाडी मछिन्द्रका सौरव राई, उत्कृष्ट प्रशिक्षक आर्मीका राजु तामाङ घोषित भए । उनीहरुले नगद २५ हजार पाएका थिए ।


प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मछिन्द्रका कप्तान सुजल श्रेष्ठ भए । उनले नगद एक लाख रुपैयाँ पाए । विजेता र उपविजेतालाई कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पुरस्कार हस्तान्तरण गरेका थिए ।


यसैबीच, आयोजकले लाइफ टाइम अचिभमेन्ट अवार्ड स्वरुप पूर्वफुटबलर गम्भीर राईलाई एक थान टिभिएस मोटरसाइकल प्रदान गर्यो ।