झापा- पूर्वकप्तान सन्दीप लामिछानेलाई युनाइटेड अरब इमिरेट्स (यूएई)मा खेलाउनका लागि नेपाल क्रिकेट संघ (क्यान)ले आवश्यक प्रक्रियामा सहयोग गरिदिनका लागि राष्ट्रिय खेलकुद परिषद्(राखेप)लाई पत्र पठाएको छ । “सन्दीपले विदेशमा खेल्न पाउनुपर्छ भनेर हामीले दाबी गरेका छैनौँ । तर, उनलाई त्यहाँ खेल्न दिनका लागि आवश्यक पर्ने प्रक्रियामा सहयोग गरिदिनका लागि हामीले राखेपलाई पत्र पठाएका छौँ,” क्यानका क्रिकेटिङ म्यानेजर विनोद दासले बाह्रखरीसँग भने ।

सन्दीपविरुद्ध नाबालिगमाथि बलात्कार गरेको आरोप छ । त्योसँगै सन्दीपलाई क्यानले गएको भदौ २३ गते निलम्बन गरेको थियो । त्यति बेला सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्नका लागि वेस्ट इन्डिजमा थिए । गएको असोज २० गते नेपाल फर्किएका सन्दीपलाई नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।

OM Sai Pathibhara Hospital

पुस २८ गते पाटन उच्च अदालतले फौजदारी अभियोग लागेका सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेश उल्टाउँदै २० लाख रुपैयाँ धरौटी राखी सर्तसहित तारेखमा छाड्न आदेश दिएकोे थियो । त्यसपछि माघ १७ गते पोखरामा सम्पन्न क्यान बोर्ड बैठकले सन्दीपको निलम्बन फुकुवा गरेको थियो । लगत्तै क्यानले सन्दीपलाई राष्ट्रिय टोलीमा समावेश गरेको थियो ।

यही फागुन २ देखि ९ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय शृंखलामा सन्दीपले १३ विकेट लिएका थिए । नेपालले अब आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत दुई शृंखला खेल्न बाँकी छ । त्यसमध्ये एउटा यूएई र अर्को नेपालमा खेल्नेछ ।

यूएईमा नेपालले फागुन १५ देखि २२ गतेसम्म त्रिदेशीय शृंंखला खेल्नेछ । त्यहाँ नेपालले यूएई र पपुवा न्युगिनी (पीएनजी)सँग प्रतिस्पर्धा गर्नेछ । सोही प्रतियोगिताका लागि क्यानले सन्दीपलाई लैजान प्रक्रिया अघि बढाएको हो । “क्यानले अदालतबाट स्वीकृत लिनका लागि भनेर सपोर्टिङ डकुमेन्ट मागेको छ,” राखेपका विभागीय प्रमुख मधुसूदन बस्नेतले भने । सन्दीपलाई टिममा समावेश गर्ने क्यान निर्णयको चौतर्फी विरोध भएको थियो । तर पनि क्यान नेतृत्वले जबरजस्ती सन्दीपलाई खेलाउने निर्णय गरेको थियो ।