काठमाडौं - इंग्ल्यान्डको महिला क्रिकेट टिम आईसीसी महिला ट्वान्टी–२० विश्वकपमा २०० रन बनाउने पहिलो टिम बनेको छ । दक्षिण अफ्रिकामा जारी विश्वकपको समूह चरणमा पाकिस्तानविरुद्ध इंग्ल्यान्डले यो कीर्तिमान बनाएको हो । समूह–२ को खेलमा मंगलबार इंग्ल्यान्डले पाकिस्तानसामु निर्धारित २० ओभरमा २१३ रनको योगफल खडा गर्‍यो ।

OM Sai Pathibhara Hospital

२१४ को विशाल लक्ष्यसहित जवाफी ब्याटिङमा आएको पाकिस्तानले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ९९ रनमात्र बनाउन सक्यो । पाकिस्तानलाई ११४ रनले हराएको इंग्ल्यान्डको यो नतिजा महिला विश्वकपमा अहिलेसम्मको फराकिलो जित पनि हो ।समूह–२ मा कीर्तिमानी जित निकालेसँगै इंग्ल्यान्ड समूह विजेताको हैसियतमा सेमिफाइनल प्रवेश गर्‍यो । यो समूहबाट इंग्ल्यान्डसँगै भारत समूह उपविजेताको रुपमा अन्तिम चारमा पुग्यो । पाकिस्तान, वेस्ट इन्डिज र आयरल्यान्ड भने समूह चरणबाटै बाहिरिए ।

इंग्ल्यान्डले अब फाइनल प्रवेशका लागि घरेलु टिम दक्षिण अफ्रिकाविरुद्ध खेल्नेछ । दक्षिण अफ्रिका समूह–१ को उपविजेताको रुपमा सेमिफाइनल आएको हो । समूह–१ बाट साविक विजेता अस्ट्रेलियाले समूह विजेताको रुपमा अन्तिम चारमा स्थान बनाएको छ । विश्वकपका सेमिफाइनल खेलहरु भोलि (बिहीबार)देखि सुरु हुनेछन् ।