झापा -चर्च ब्वाइज युनाइटेड क्लब मुस्ताङ प्रथम भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको क्वार्टरफाइनल प्रवेश गरेको छ । भद्रपुरको मेची रंगशालामा सोमबार भएको खेलमा अर्को ए डिभिजन टोली नेपाल पुलिस क्लबलाई ३–० ले हराउँदै चर्च ब्वाइज अन्तिम आठमा पुगेको हो । टोलीलाई जित दिलाउन आशिष चौधरीले २ गोल र गगनदीप सिंहले एक गोल गरे ।

चर्च ब्वाइजले सेमिफाइनल प्रवेशका लागि फागुन १० गते सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मछिन्द्र क्लबको सामना गर्नेछ । अनन्त तामाङको कप्तानीमा रहेको चर्च ब्वाइजले ४० औं मिनेटमा गगनदीपको गोलबाट अग्रता लिएको थियो । दोस्रो हाफमा चार मिनेटको फरकमा आशिषले गोल गरेपछि चर्च ब्वाइजको जित सहज भएको हो ।

OM Sai Pathibhara Hospital

आशिषले ५६ औं र ६० औं मिनेटमा गोल गर्दै टोलीको जित निश्चित पारे । आशिष नै खेलको म्यान अफ दी म्याच चुनिए र उनले २० हजार रुपैयाँ प्राप्त गरे । भद्रपुर झापा गोल्डकपले आयोजना गरेको प्रतियोगितामा मंगलबार संकटा क्लब र भद्रपुर ब्लेजर्सबीच प्रतिस्पर्धा हुनेछ ।

फागुन १६ गतेसम्म हुने गोल्डकपमा तीन विदेशीसहित १० टिमको सहभागिता रहेको छ । गोल्डकपको विजेता टोलीले १३ लाख र दोस्रो हुने टोलीले ७ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिता उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता, उदयमान खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, फाइनल खेलको पहिलो गोलकर्ता र प्रशिक्षकलाई २५ हजार दिइने आयोजकले जनाएको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक लाख रुपैयाँ दिइने आयोजकले जानकारी दिएको छ । प्रथम भद्रपुर झापा गोल्डकपलाई चौधरी ग्रुपको मुस्ताङ बियरले मुख्य प्रायोजन गरेको छ ।