झापा- उच्च अदालत पाटनको आदेशविरुद्ध क्रिकेटर सन्दीप लामिछाने सर्वोच्च अदालत जाने भएका छन् । उच्च अदालतले विदेश यात्रामा लगाएको प्रतिबन्ध तथा धरौटी रकमको विषय पुनरावलोकनका लागि लामिछानेले सर्वोच्चमा निवेदन दर्ता गर्ने तयारी गरेको अधिवक्ता सरोज कृष्ण घिमिरेले बताए ।
‘सम्भवतः भोलि हामी सर्वोच्च जाने छौँ,’ घिमिरेले भने । अदालतले लगाएको प्रतिबन्धका कारण लामिछानेले संयुक्त अरब एमिरेट्स ९यूएई० मा हुने आगामी शृङ्खलामा सहभागी हुन नपाउने अवस्ता छ । त्यस्तै, अदालतले लामिछानेलाई २० लाख रुपैयाँ धरौटी बुझाउन आदेश दिएको थियो ।
नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका सन्दीपलाई गत पुस २७ गते उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले सन्दीपलाई धरौटीमा छाड्न आदेश दिएको थियो । नाबालिग बलात्कारको मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट थुनामै बस्नुपर्ने गरी भएको थुनछेक आदेशविरुद्ध लामिछाने उच्च अदालत पाटनमा रिट निवेदन लिएर पुगेका थिए ।
अदालतले दिएको आदेशमा सन्दीपलाई नेपाल छाड्न प्रतिबन्ध लगाइएको छ भने जाहेरवालीको परिवारलाई भेट्न, धम्की दिन वा प्रभावमा पार्न निषेध गरिएको छ । त्यसै गरी मुद्दाको सम्बन्धमा सामाजिक सञ्जाल लगायतमा लेख्न प्रतिबन्ध लगाइएको छ । त्यसै गरी आदेशमा उपत्यका छाड्नुपरेमा काठमाडौँ प्रहरीलाई जानकारी गराई स्वीकृति लिनुपर्ने शर्त दिइएको छ भने सन्दीपको मोबाइल डिभाइसबाट फोन कल, म्यासेज वा लोकेशनको निरन्तर निगरानी गर्न भनिएको छ । सर्तको पालना नगरेमा जिल्ला अदालतमार्फत पुनः पक्राउ गरी थुनामा राख् नसक्ने अदालतको आदेशमा उल्लेख छ ।