झापा- भद्रपुर झापा गोल्डकप फुटबल प्रतियोगिता सञ्चालनका लागि चौधरी ग्रुपले ‘मुख्य प्रायोजन’ गर्ने भएको छ । भद्रपुरमा एक समारोहबीच चौधरी ग्रुपको उत्पादन मुस्ताङ बियर र गोल्डकप आयोजकबीच मुख्य प्रायोजन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

OM Sai Pathibhara Hospital

सम्झौतामा हस्ताक्षर भएसँगै अब प्रतियोगिताको नाम ‘मुस्ताङ भद्रपुर झापा गोल्डकप’ रहनेछ । सम्झौतामा भद्रपुर झापा गोल्डकप आयोजक समितिका अध्यक्ष दिपेश ढकाल र चौधरी ग्रुपका तर्फबाट मुस्ताङका कन्ट्री सेल्स हेड युवराज खत्रीले हस्ताक्षर गरे ।

सो प्रतियोगिता आगामी फागुन ७ देखि १६ गतेसम्म भद्रपुर-८ स्थित मेची रंगशालामा सञ्चालन हुनेछ । रंगशालामा करिब २० हजार दर्शक अट्नेगरी स्थायी प्यारापिटको मर्मत तथा रङरोगन कार्य सम्पन्न भइसकेको छ । पहिलो संस्करणको मुस्ताङ भद्रपुर झापा गोल्डकप प्रतियोगिताको विजेता टिमलाई नगद रु. १३ लाख र उपविजेता टिमलाई नगद रु. ७ लाख पुरस्कार दिइने आयोजक समितिका अध्यक्ष दिपेश ढकालले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न रु. एक करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको उनले बताए। प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद रु. एक लाख पुरस्कार दिइने भएको छ ।

प्रतियोगितामा आयोजक भद्रपुर झापा-११,  त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लव, सशस्त्र प्रहरीको एपीएफ क्लव, संकटा क्लव लगायतका नेपालका ए डिभिजन क्लवहरु र भारत, भूटान र बंगलादेशका तीन विदेशी क्लबसहित दश वटा क्लबीच प्रतिष्पर्धा हुने अध्यक्ष ढकालले जानकारी दिए ।