काठमाडौं / त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले स्नातक तहका नतिजा पुस १५ गतेभित्र प्रकाशित गरिसक्ने टार्गेट लिएको थियो । तर, पुस १९ गते भइसक्दा पनि नतिजा प्रकाशित हुन सकेको छैन। 

त्रिवि परीक्षा नियन्त्रण कार्यालयले गत वर्ष लिएको बीबीएस, बिएड लगायतका विषयको परीक्षाफल सार्वजनिक गर्न सकेको छैन । स्नातक तहका नतिजा प्रकाशित गर्न नसकेको त्रिविले स्नातकोत्तर तहका लागि भर्ना आह्वान गरिसकेको छ । त्रिवि शिक्षाध्यक्षको कार्यालयले स्नातकोत्तर तहको भर्ना आह्वान गरेको हो । 

OM Sai Pathibhara Hospital

शिक्षाध्यक्षको कार्यालयले स्नातकोत्तर तहमा मानविकी तथा समाजशास्त्र, व्यवस्थापन, शिक्षाशास्त्र र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत पढाई हुने विषयका लागि भर्ना आह्वान गरेको हो । पुस ६ गतेदेखि माघ ५ गतेसम्म आवेदन फाराम भर्ने मिति तोकिएको छ । भने माघ २२ गतेदेखि पढाई सञ्चालन गर्ने जनाएको छ । 

 ‘टार्गेट भनेको पुस १५ मा रिजल्ट निकालिसक्नु भन्ने थियो । तर, आज १९ भइसक्यो । प्राविधिक कठिनाइ भयो, रुजु गर्ने काम बाकी रहेको छ भनेर काम गर्न सकिएको छैन भनिरहेका छन्,’ एक अधिकारीले भने, ‘अब २५ गतेसम्म निकाल्छन् भन्ने कुरा हो । तर, यही अनुसारको भयो भने यो महिनाभित्र पनि निकाल्न सकिँदैन जस्तो छ ।’ 

यो महिनाभरमा नतिजा निकाल्न सकिएन भने भर्ना प्रक्रिया नै अवरुद्ध हुनेछ । त्यसपछि नयाँ भर्ना प्रक्रिया अगाडि बढाउनुपर्ने देखिन्छ । 

स्नातकोत्तर तहमा भर्ना फाराम भर्ने अन्तिम दिनसम्ममा नियमिततर्फको सबै विषय र सङ्कायमा नतिजा सार्वजनिक गर्ने लक्ष्यका साथ काम भइरहेको उनको भनाइ छ ।