झापा/ आगामी शैक्षिक सत्र २०८० सालदेखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम अनुसार पठनपाठन हुने भएको छ ।
त्यसका लागि नयाँ पाठ्यक्रम तयार पारिरहेको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक बैकुण्ठप्रसाद अर्यालले जानकारी दिए ।
महानिर्देशक अर्याल अनुसार तीन वटा कक्षाका नयाँ पाठ्यपुस्तक तयार भइरहेको छ । नयाँ पाठ्यपुस्तकको प्रिन्ट रेडी कपी पीआरसी तयार भएपछि छपाईका लागि जनक शिक्षा सामग्री केन्द्रलाई पठाइने उनले बताए ।
पाठ्यक्रम विकास केन्द्रले उपलब्ध गराएको पीआरसीका आधारमा जनक शिक्षाले पाठ्यपुस्तक छाप्ने गर्दछ । अहिले कक्षा ५ र १० का अनिवार्य विषयको नयाँ पाठ्यक्रम अनुसारको पीआरसी तयार भइसकेको र ८ को काम भइरहेको महानिर्देशक अर्यालले बताए ।
कक्षा ५ को पीआरसी भने जनक शिक्षालाई पठाइएसकेको केन्द्रले जनाएको छ । त्यस्तै कक्षा ८ र १० को केही दिनमा पठाउने तयारी भइरहेको महानिर्देशक अर्यालले बताए ।
योसँगै विद्यालय शिक्षाका सबै कक्षामा नयाँ पाठ्यक्रम अनुसारको पाठ्यपुस्तक लागु हुनेछन् । सरकारले २०८० सम्म विद्यालय तहका सबै कक्षामा नयाँ पाठ्यक्रम लागू गर्ने योजना अघि सारेको हो । सोही आधारमा हरेक शैक्षिक शत्रका विभिन्न कक्षामा नयाँ पाठ्यक्रम लागू गर्दैै आएको छ ।