एजेन्सी / विश्वकप फुटबल प्रतियोगिताको उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने भएका छन् । बुधबार दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २–० ले हराउँदै फ्रान्सले लगातार दोस्रो पटक फाइनलमा स्थान पक्का गरेको हो।

फ्रान्सले खेलको पहिलो हाफमा एक गोल गर्यो भने दोस्रो हाफमा थप एक गोल गर्दै फाइनलका लागि स्थान सुरक्षित गरेको हो ।

OM Sai Pathibhara Hospital

फ्रान्सका लागि थिओ हर्नान्डेजरान्दल कोलो मुवानीले गोल गरेका थिए । हर्नान्डेजले खेलको पाँचौँ मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । उनले पेनाल्टी क्षेत्रभित्र रिबाउन्डबाट आएको बलको सदुपयोग गर्दै गोल गरेका थिए ।

त्यस्तै खेलको ७९औँ मिनेटमा सब्सिच्युड खेलाडीको रुपमा मैदान प्रवेश गरेका मुवानीले गोल गर्दै फ्रान्सलाई २–० को जित दिलाए । उनले बेन्चबाट मैदान छिरेको एक मिनेट नबित्दै गोल गरेका थिए । उनी ओसुमाने डेम्बेलेको स्थानमा मैदान प्रवेश गरेका थिए ।

यसअघि फ्रान्स क्वाटरफाइनलमा इङ्गल्यान्डलाई २–१ गोलले हराउँदै सेमिफाइनल प्रवेश गरेको थियो । 

त्यस्तै यसअघि अर्जेन्टिनाले सेमिफाइनलमा साविक उपविजेता क्रोएसियालाई ३–० ले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो । अर्जेन्टिनाको जितमा युलियन आल्भारेजले दुई र मेसीले एक गोल गरेका थिए। अब फाइनल खेल आइतबार लुसैल रङ्गशालामा हुनेछ । यो खेल नेपाली समयअनुसार राति ८ः४५ बजेदेखि सुरु हुनेछ।

हालसम्म फ्रान्स र अर्जेन्टिनाले समान दुई पटक विश्वकपको उपाधि जितेका छन् । यस्तै फ्रान्स विश्वकपमा लगातार दोस्रो पल्ट फाइनल पुग्ने २० वर्षको अवधिमा दोस्रो राष्ट्र बनेको छ। 

१९९८ मा पहिलो पटक ब्राजिललाई पराजित गर्दै उपाधि जितेको फ्रान्सले गएको विश्वकपमा क्रोएसियालाई पराजित गर्दै दोस्रो पटक उपाधि उचालेको थियो।

अर्जेन्टिनाले १९७८ मा नेदरल्याण्ड्सलाई पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो। १९८६ मा जर्मनीलाई पराजित गर्दै अर्को उपाधि थप्यो। त्यसपछि २ पटक फाइनलमा पुगे पनि अर्जेन्टिनाले उपाधि थप्न सकेको छैन।