काठमाडौं  / कवि मधुसूदन पौडेलको नवीनतम् कवितासङ्ग्रह ‘आफ्नै माटो आफ्नै मुटु’ लोकार्पण गरिएको छ ।

बौद्धिक सम्पत्ति संरक्षण समाज काठमाडौँद्वारा बिहीबार नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित एक विशेष समारोहबीच उक्त कृतिको लोकार्पण गरिएको हो ।

OM Sai Pathibhara Hospital

कृतिको समीक्षा गर्दै डा. विन्दु शर्माले सद्भाव र व्यङ्ग्य दुई कुरा कवितामा समेटिएको बताए । कवितामा लैङ्गिक विभेद, समाजको अवस्था, देशभक्ति आदि समेटिएको डा. शर्माको भनाइ छ । 

कार्यक्रमका प्रमुख अतिथि प्रा. जगतप्रसाद उपाध्यायले बौद्धिक सम्पत्ति संरक्षण अभियन्ता पौडेलका कविता मननयोग्य रहेको बताए । पौडेल कठोर प्रशासक भए पनि भावनात्मक रहेकोले कविता सिर्जना गर्न सफल भएको उनको भनाइ छ । यो कृतिमा अन्तरमनलाई जागृत र झङ्कृत गराउने कविता समावेश भएको उनले बताए ।

कार्यक्रममा शुभकामना व्यक्त गर्दै प्रा.डा. गोपिचन्द्र पौडेलले मधुसूदन सानैदेखि रसिक स्वभावको भएको सुनाए । लेखन र सिर्जना सानैदेखि गुणको रूपमा आए पनि अहिले आएर मात्रै कृति प्रकाशन गर्न सम्भव भएको उनले बताए । पछिल्लो पुस्तालाई सुम्पने उपहार सिर्जना नै भएकोले लेखनमा निरन्तरता दिन पनि उनले आग्रह गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै संविधानसभा सदस्य नारायण शर्माले कृतिको शीर्षकसँग आफू पनि जोडिएको बताए । कृतिका स्रष्टा पौडेलसँगको आफ्नो सामिप्यमा सुनाउँदै शर्माले प्युठानमा हुँदै उहाँ सिर्जनशील रहेको बताए । 

पूर्वअर्थमन्त्री एसपी कोइरालाले स्रष्टा पौडेलसँग उद्योग विभागमा रहँदाको रोचक प्रसङ्ग सुनाउँदै सिर्जनाको क्षेत्रमा लागेर पुस्तक निकाल्नु महत्त्वपूर्ण भएको बताए । कविता लेखनमा मौलिकता झल्किएको बताउँदै वस्तु र भावनाप्रति उनको पृथक बुझाइ रहेको कोइरालाको भनाइ छ । । 

कृतिमा हामी र हाम्रो समाज, हामी र हाम्रो राष्ट्र, हामी, हाम्रो परिवार, हामी र हाम्रो राजनीतिक परिवेश,  हामी र हाम्रो चेतना शीर्षकमा ४८ वटा कविता समेटिएको छ । बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालले प्रकाशन गरेको यो कृतिको मूल्य २ सय ५० राखिएको छ ।