झापा /  पर्यटन विभागले यस वर्षको शरद ऋतुमा हिमाल आरोहण अनुमति दिएर गत वर्षभन्दा दोब्बर राजस्व रकम संकलन गरेको छ। 

विभागले गत वर्षको यही ऋतुमा ४ करोड ६ लाख रुपैयाँ रकम संकलन गरेकोमा यसवर्ष ९ करोड ३० लाख संकलन गरेको हो ।

OM Sai Pathibhara Hospital

विभागको तथ्याङ्क अनुसार ४८ वटा हिमाल अनुमतिबाट उक्त रकम संकलन भएको हो। विभागले वर्षमा २ पटक हिमाल आरोहणका लागि अनुमति दिने गरेको छ। 

यसअनुसार विभागले मार्च, अप्रिल, मे महिना (वसन्त ऋतु) मा र सेप्टेम्बर, अक्टोबर र नोभेम्बर (शरद ऋतु)मा हिमाल आरोहण खुला गर्ने गर्छ ।

यस वर्षको तथ्याङ्क अनुसार शरद ऋतुमा ८ हजार १ सय ६३ मिटर अग्लो मनास्लु हिमालबाट सबैभन्दा बढी राजस्व संकलन भएको छ। मनास्लु हिमालबाट मात्र विभागले ४ करोड ६२ लाख ९१ हजार रुपैयाँ राजस्व संकलन गरेको हो। कुल ३८ समूहबाट ४ सय ४ जनाले मनास्लु आरोहण अनुमति लिएका छन्। जसमध्ये ३०७ जना पुरूष र ७ जना महिला रहेका छन्।

विशेषगरी वसन्त र शरद ऋतुमा सबैभन्दा बढी हिमाल आरोहण हुने गर्दछ।