झापा / चालु आर्थिक पार्षको साढे चार महिनाको अवधिमा सरकारी खर्च र आम्दानी लगभग उस्तै देखिएको छ ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार मंसिर १९ गतेसम्म ३ खर्ब २५ अर्ब २६ करोड ९२ लाख रुपैयाँ राजस्व संकलन भइराख्दा यता सरकारको खर्च ३ खर्ब ९२ अर्ब ४३ करोड ९८ लाख रूपैयाँ भएको हो ।
खर्च आम्दानीको अन्तर हेर्दा समीक्षा अवधिसम्ममा ६७ अर्ब १७ करोड ६ लाख रुपैयाँले बढी खर्च भएको देखिन्छ । यद्यपि, यस्तो खर्च अधिक नियमित (चालु खर्च) मा नै भएको तथ्याङ्कले देखाउँछ ।
आर्थिक वर्ष २०७९–८० का लागि सरकारले कुल १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट छुट्याएकोमा मंसिर १९ गतेसम्म चालु खर्चतर्फ मात्र कुल बजेटको २२ प्रतिशत अर्थात् ३ खर्ब १९ अर्ब ४९ करोड ७८ लाख रुपैयाँ खर्च भएको देखिन्छ ।
यस्तै विकास (पुँजीगत खर्च) तर्फ भने हालसम्म जम्मा २९ अर्ब ५३ करोड १७ लाख रुपैयाँ मात्र हुन सकेको छ । जुन विनियोजित बजेटको ७.७६ प्रतिशत मात्र हो ।
समीक्षा अवधिमा सरकारले विदेशी ऋण, ब्याज तथा विविध आर्थिक सहायता भुक्तानी (वित्तीय व्यवस्थापन) का लागि हालसम्म ४३ अर्ब ४१ करोड ३ लाख रुपैयाँ खर्च गरिसकेको छ । जुन विकास खर्च भन्दा १३ अर्ब ८७ करोड ८६ लाख रुपैयाँले बढी हो ।