एजेन्सी / फिफा विश्वकप २०२२ ले यतिबेला विश्वकै ध्यान खिचिरहेको छ । विश्वकप फुटबल खेलको सबैभन्दा प्रमुख विश्वस्तरीय पुरूष फुटबल प्रतियोगिता भएकै कारण पनि सबैको चासोको विषय बनेको हो । 

नोभेम्बर २० बाट कतारमा सुरु हुने फिफा विश्वकप २०२२ का लागि सहभागी टोलीहरू कतार पुगेर तयारी गरिरहेका छन्।  

OM Sai Pathibhara Hospital

कतार विश्वकपमा यसपटक धेरै नयाँ खेलाडीले डेब्यु गर्दै छन्। केही खेलाडीका लागि भने कतार विश्वकप अन्तिम हुन सक्छ। सन् २०२६ मा मेक्सिको, अमेरिका र क्यानडामा हुने विश्वकपमा यसपटकका चर्चित अनुहार देख्न पाइनेछैन।

पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका स्टार खेलाडी लियोनेल मेस्सीका लागि यो विश्वकप नै अन्तिम हुने आकलन गरिएको छ । 

दुवै खेलाडी यो विश्वकपसँगै अन्तर्राष्ट्रिय फुटबल करियरबाट सन्यास लिने तयारीमा छन् । पोर्चुगिज स्टार रोनाल्डोले यो विश्वकप जितेपछि आफूले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने बताइसकेका छन् । 

क्लब स्तरका सबैजसो उपाधि उचालिसकेका रोनाल्डो र मेस्सी विश्वकपको ट्रफी उचाल्न चाहन्छन् । यता फ्रेन्च स्टार करिम बेन्जिमा पनि यो विश्वकपबाट सन्यास लिने योजनामा छन् । युरो कपबाट राष्ट्रिय टोलीमा पुनरागमन गरेका बेन्जिमाका लागि यो अन्तिम विश्वकपका रूपमा रहेको बताइएको छ ।